
काठमाडौँ । राधा बराल (नाम परिर्वतन) ४२ वर्षकी भइन् । कमजोर महसुस हुने, चाँडो रिस उठ्ने, बेलाबेलामा शरीर तातो हुने, शरीर भारी भइरहने समस्याले उनलाई सतायो । यो क्रम तीन वर्षसम्म रह्यो ।
यसले दम्पतीबिच खटपटसमेत निम्त्याउन थाल्यो । राधालाई शारीरिक सम्पर्कमा पनि इच्छा हुन छाड्यो । शारीरिक सम्बन्धका लागि तयार नहुँदा उनका श्रीमानले अरुसँग लागेको आरोप समेत लगाउन थाले । जसकारण उनी डिप्रेसनको सिकार भइन् । परामर्शका लागि चिकित्सककहाँ पुग्दा थाहा भयो- उनलाई मेनोपज अर्थात् रजोनिवृत्ति भएको रहेछ ।
विष्णु मगर (नाम परिर्वतन)लाई दुई वर्षअघि सुगर (डायबिटिज) देखिएको थियो । सुगर भएको पुष्टि भएपछि डाक्टरले औषधि सेवन गर्न सुझाव दिएका थिए, तर उनले मानिनन् । बानी लाग्ने डरले औषधि सेवन गरिनन् । दुई र पाँच वर्षका छोरा सम्हाल्नेदेखि घरको सबै काम गर्नुपर्ने उनको जिम्मेवारी छ ।
डायबिटिजकै कारण उनलाई बढी रिस उठ्ने, शरीर कमजोर अनि भारी हुने समस्या देखिएको महिना दिन बढी भयो । श्रीमान्-श्रीमतीबिच झगडा पनि हुन थाल्यो । जसकारण उनीहरू छुट्टाछुट्टै कोठामा सुत्न थाले । उनमा देखिएको यस्तो समस्या नन्दको सहयोगमा परामर्शमा पुगेपछि मात्र पत्ता लाग्यो ।
यी दुई प्रतिनिधि उदाहरण हुन् । यसले नेपाली समाजमा यौन दुर्बलताले कस्तो समस्या निम्त्याइरहेको छ भन्ने देखाउँछ ।
स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) र परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग, संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको २०२४ मा गरिएको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय अध्ययनले पनि कुनै दीर्घरोग जस्तै- मधुमेह, उच्च रक्तचाप भएकाहरूमा यौन दुर्बलता बढी हुने गरेको देखाएको छ । मोटोपन धेरै भएका व्यक्तिमा अन्यको तुलना बढी यौन दुर्बलता देखिएको छ ।
उक्त अध्ययनले कुनै पनि दीर्घरोग नभएका व्यक्तिमा ६६.८ प्रतिशत यौन दुर्बलता हुँदा मधुमेह ७१.८ प्रतिशत र उच्च रक्तचाप ८३.२ प्रतिशत समस्या पाइएको छ । मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगमध्ये कुनै दुई वा सोभन्दा बढी समस्या हुनेहरूमा यो दर ८४.६ प्रतिशतसम्म पुगेको छ । यस्तै, शारीरिक तौलले पनि यसमा प्रभाव पारेको अध्ययनले देखाएको छ । कम तौल भएका ७६.५ प्रतिशत र अत्यधिक मोटोपन भएका ७१.४ प्रतिशतमा यौन दुर्बलता भएको पाइएको छ ।
यौन दुर्बलताको मुख्य कारण नसर्ने रोग रहेको यौनरोग तथा प्रजनन् विशेषज्ञ प्रा. डा. खेमबहादुर कार्की बताउँछन् । उनका अनुसार यौन दुर्बलता हुनु भनेको यौन जीवनमा समस्या आउनु हो ।
‘यौन दुर्बलताको कारण यौन जोडी वा श्रीमान् श्रीमतीबिचको सम्बन्ध बिग्रिन्छ । जसले गर्दा यौन दुर्व्यवहार, हिंसा, बलात्कारजस्ता आपराधिक घटना बढ्छन्,’ उनी भन्छन् ।
मनोविद् सनम पौडेल यौन चाहना भएर यौन जोडीमध्ये एकले आनन्द प्राप्त गर्ने र अर्कोले नगर्ने अवस्था सिर्जना भएमा सम्बन्धमा चिसोपन आउने बताउँछिन् । जसकारण त्यहीँबाट घरेलु हिंसाको सुरुवात हुन्छ ।
रजोनिवृत्ति महिलामा महिनावारी सुक्ने अवस्था हो । यसबेला यौन इच्छामा कमी आउनु स्वभाविक हुन्छ । तर यस्तो बेला कतिपय श्रीमानले शंका गर्ने, परपुरुषसँग सम्बन्ध भएको आरोप लगाउने जस्ता घटनाले पारिवारिक कलह बढाउँछन् ।
अध्ययनले यौन दुर्बलता महिलाको तुलनामा पुरुषमा केही बढी देखिएको छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ । यौन दुर्बलता हुने पुरुषमध्ये पाँच प्रतिशतमा गम्भीर समस्या रहेको पनि अध्ययनले देखाएको छ । ३२ प्रतिशत पुरुषमा सामान्य प्रकारको यौन दुर्बलता रहेको पाइएको छ । यौन दुर्बलता भएकामध्ये ८४ प्रतिशत पुरुषले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको बताएका छन् । यस्तै ९२ प्रतिशत महिला पुरुषले दुवैले यौन चाहना नभएको जवाफ दिएका छन् ।
मानसिक तनाव, व्यस्त जीवनशैली, श्रीमान् श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, पारिवारिक कलह, काम र आरामको असन्तुलन लगायतले यौन जीवन राम्रो नभएको डा. कार्की बताउँछन् । यौन अंगमा संक्रमणजस्ता शारीरिक कारण पनि यसमा जिम्मेवार छन् ।
यौन दुर्बलता भएका ९० प्रतिशतभन्दा बढी व्यक्तिमा मनोवैज्ञानिक रुपमा तनाव, चिन्ता, निराशा र कुनै दर्दनाक घटनाबाट उत्पन्न अवस्था रहेको देखिएको छ । यौनरोग विशेषज्ञ डा. कार्की दुर्बलता र मनोवैज्ञानिक कारणबिच चक्रीय सम्बन्ध रहेकाले एकले अर्कोलाई असर पार्ने र समस्यालाई झन् जटिल बनाउने गरेको बताउँछन् ।
नेपालमा पहिलोपटक गरिएको यौन दुर्बलतासम्बन्धी अध्ययन गरिएको भए पनि यो समस्या विश्वव्यापी रपमा बढ्दै गएको छ । विश्वमा ४९ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषमा कुनै न कुनै रुपमा यौन दुर्बलता रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । यो समस्या एसियाली मुलुकमा धेरै पाइएको छ । मलेसियामा २७ देखि ६९ प्रतिशत, सिंगापुरमा ५१ देखि ७३ प्रतिशत र हङकङमा ६४ प्रतिशतसम्म यस्तो समस्या देखिएको छ ।
सो अनुसन्धानले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ सेवनले पनि यौन दुर्बलता बढाएको देखाएको छ । यस्तै, मदिरा सेवन गर्नेहरूमा ६९ प्रतिशत, लामो समय सुर्ती सेवन गरेर छाडेकामध्ये ८० प्रतिशत यौन दुर्बलता देखिएको छ ।
यौन तथा प्रजननबारे बहस गरौँ
यौनरोग तथा प्रजनन् विशेषज्ञ डा. कार्की यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारबारे नीति र कार्यक्रममा समावेश गर्ने आवश्यक रहेको बताउँछन् ।
यौन स्वास्थ्य, यौन मनोविमर्श, यौन दुर्बलताको उपचार र यौन हिंसालाई एकीकृत रुपमा समावेश गरी कार्यक्रम बनाउनुपर्ने उनी सुझाउँछन् । स्वास्थ्य संस्था तथा अस्पतालहरूमा यौन स्वास्थ्य मनोविमर्श केन्द्रको स्थापना गर्न आवश्यक छ ।
यौन जोडी तथा श्रीमान श्रीमतीबिच यौनका विषयमा खुला सम्मानजनक रुपमा संवादको आवश्यकता पर्ने मनोविद् पौडेल बताउँछिन् । जीवनलाई स्वस्थ र सुखी पारिवारिक जीवनका लागि यौन स्वास्थ्यको भूमिकालाई नजरअन्दाज नगर्न उनको सुझाव छ ।
‘यौन दुर्बलता एउटा सामान्य स्वास्थ्य समस्या हो भन्ने कुरा बुझ्न जुरुरी छ,’ उनी भन्छिन्, ‘यसको सही उपचार खोज्न हिच्किचाउन पनि हुँदैन ।’
यौन तथा प्रजनन् स्वास्थ्यलाई राजनीतिक एजेण्डा बनाउनुपर्ने डा. कार्की तर्क गर्छन् । ‘समाजमा एकखालको विग्रह सिर्जना गरेको छ । त्यसैले यो विषयलाई पोलिटिकल एजेन्डा बनाउनुपर्छ । राजनीतिक तह छलफल बहस जरुरी छ,’ उनी भन्छन् ।
मनोविद् पौडेल यौन दुर्बलताको समस्याबारे बोल्न धेरै जना हिच्किचाउने गरेको सुनाउँछिन् । जसकारण आधिकारिक संस्थाबाट स्वास्थ्य सेवा लिनुअघि अनाधिकृत संस्था र व्यक्तिबाट अप्रमाणित औषधिहरु सेवन गरेको उनी बताउँछिन् ।
युवाहरूको यौन स्वास्थ्यलाई स्वस्थ राख्न, यौन तथा लैंगिक हिंसा रोक्न, बालविवाह र यौन जोडीबाट हुने हिंसा रोक्न ढिला नगरी विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा वृहत यौन शिक्षा समावेश गर्नुपर्ने डा. कार्की सुझाव दिन्छन् । राताेपाटी




_eDRH6Bm5KD.jpg)


Facebook Comments