काठमाडौँ, १८ फागुन : विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया) मार्फत मात्र भेट्ने गर्दछन् । कैयौँ देशका उम्मेदवारले आफ्ना योजना, कार्यक्रम अर्थात् एजेन्डा टेलिभिजन बहसका माध्यमबाट राख्ने गरेको पाइन्छ । अहिले त यस्ता बहसका लागि युट्युब लगायत अन्य ‘सोसियल प्लेटफर्म’ पनि उपलब्ध छन् । अनि जनताले यसैमार्फत् ती उम्मेदवारप्रति धारणा बनाउँछन् । उम्मेदवारका योजना, कार्यक्रमप्रतिको प्रतिक्रिया पनि मिडियामार्फत् नै दिने गर्दछन् । त्यसैले निर्वाचनमा मिडियाको भूमिका माध्यम मात्र नभएर साधन नै हो भन्दा पनि हुन्छ ।
चुनावका बेलामा उम्मेदवार, मतदाता र मिडियाका बीचमा त्रिपक्षीय सञ्चार अर्थात् सम्बन्ध स्थापित हुने गर्दछ । मिडिया, मतदाता र उम्मेदवार यो साइकलमा आपसी सम्बन्ध राख्छन् र एकले अर्काप्रति गर्ने सञ्चारको माध्यम नै बन्ने गर्दछन् । मिडिया अन्यत्र पहरेदार बनेजस्तै यहाँ भने मतदाता र उम्मेदवारका विचार प्रवाहका माध्यम र एक अर्काका सेतु बन्ने गर्दछन् । यतिखेर पनि नेपालमा मिडियाको भूमिका यस्तै नै छ । उम्मेदवार र मतदाताबीचका धेरै कुरा मिडिया मार्फत् नै सञ्चार भइरहेको देखिएको छ ।
आफूले मत दिनुपर्ने उम्मेदवारको छनोटका लागि हिजो उसले के काम गरेको थियो र भोलिका एजेन्डा र प्रतिबद्धता के हुन् भन्ने जानकारी नागरिक अर्थात् मतदाताले मिडियामार्फत नै लिने गर्दछन् । यी सबै सूचना प्राप्त गर्न तथा उम्मेदवार र मतदाताका बीचमा प्रभावकारी रुपमा सञ्चार गर्न मिडिया बाहेकको अर्काे कुनै प्रभावकारी माध्यम नागरिकसामु छैन । त्यसैले निर्वाचनका बेला मिडियाका लागि अलग्गै आचारसंहिता जारी हुन्छ र मिडियाको भूमिकाको कुशल व्यवस्थापन आवश्यक पनि रहन्छ । चुनावका समयमा नागरिकले आफ्ना राजनीतिक दल या उम्मेदवारप्रतिका अपेक्षा, माग, गुनासा र समस्या राख्ने भरपर्दाे माध्यम मिडिया नै हुन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक र त्यसअघिका राष्ट्रपति बाराक ओबामा पनि त्यहाँको सरकारी तहमा अथवा कुनै राजनीतिक दलको उच्च ओहदामा रहेर चिनिएका व्यक्ति थिएनन् । निर्वाचन अभियानमा मतदाताले उनीहरूका विचार, योजना र कार्यक्रमलाई मन पराए र मत दिए । अनि उनीहरुका विचार तथा कार्यक्रमलाई जनतासँग साक्षात्कार गराइदिने काम मिडियाले नै गरेका हामीले देखेका थियौँ ।
अर्काे एउटा फरक प्रसङ्क के छ भने कतिपय देशमा मिडियाले नै कुनै उम्मेदवारलाई मत दिनुपर्ने तर्क नै अघि सार्ने पनि गरेका हुन्छन् । तर नेपालमा भने निर्वाचनका समयको मिडियाको यो कार्य अपवाद बन्न सक्छ, किनभने यहाँ मिडियाले त्यसो गर्दा कुनै उम्मेदवार या पार्टी विशेषको पक्षधरता लिन पनि सक्छन् । कुनै पार्टी या उम्मेदवारलाई मत दिनुपर्ने कारण मिडियाले सार्वजनिक रुपमै प्रस्तुत गरिदिन्छन् तर कुनै पक्षधरता नभएर विषयका आधारमा । मिडियाका ती तर्क र कारणहरु कसैप्रति विभेदपूर्ण हुँदैनन्, तथ्यमा आधारित हुन्छन् । यस्तो कार्य मिडियाले स्वतन्त्र र तटस्थ रुपमा गरेको हुन्छ । मिडियाले सार्वजनिक रुपमा स्थापित गरिदिएको यो परिस्थितिबाट नागरिकलाई पनि आफूले मत दिने उम्मेदवार छन्न सहज हुने गर्दछ । यस कामका लागि मिडियाले कुनै उम्मेदवारलाई धोइ पखाली नगरी जस्ताको तस्तै प्रस्तुत गरिदिन्छ । मिडियाले तर्क या आधारविना नै कुनै पक्ष, उम्मेदवार या पार्टी विशेषको पक्षधरता लिएर वकालत गर्न भने मिल्दैन ।
यो पनि एक प्रकारको मतदाता शिक्षा नै हो र यसले नागरिकलाई आफ्नो लोकतान्त्रिक अधिकार कसरी प्रयोग गर्ने भनेर जानकारी प्रदान गर्ने गर्दछ । मिडियाले हरेक नागरिकलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अथवा निर्वाचनमा मतदान गर्ने तरिकाका बारेमा शिक्षा प्रदान गर्दछ । यसमा दुई प्रकारको सन्देश हुन्छ । पहिलो नागरिकले किन आफ्नो मताधिकार प्रयोग गर्ने भन्ने हुन्छ भने अर्काे प्रक्रियागत रुपमा नै मतदान कसरी गर्ने भनेर दिइने जानकारी समेटिएको हुन्छ । यी दुई सन्दशेमा नै सही र राम्रो विधायक किन र कसरी छान्ने भन्ने कुरा पनि पर्दछ ।
निर्वाचन प्रक्रियाको रिपोर्टिङ गर्ने क्रममा नै राजनीतिक पार्टी र उम्मेदवारलाई मतदातासँग संवाद गर्ने अवसर मिडियाले जुटाइदिन्छन् । सर्वसाधारणले आफ्ना जिज्ञासा र गुनासा, सरोकार, विचार र आवश्यकताका बारेमा राजनीतिक दल, उम्मेदवार, निर्वाचन गर्ने निकाय, सरकार तथा आफूजस्तै मतदातालाई जानकारी दिने र आपसी अन्तक्र्रिया गर्ने अवसर पनि मिडियाले नै प्रदान गर्ने गर्दछन् ।
यसरी मिडियाले सामाजिक उत्तरदायित्वको सिद्धान्तको आत्मसात गरी निर्वाचनका समयमा काम गर्ने गर्दछ । निर्वाचन प्रणालीबारे साक्षरता बढाउने विधिका रूपमा पनि मिडियाको भूमिका रहन्छ । कम मत खस्ने तथा खसेका मतमध्ये पनि कतिपय मत बदर हुने जस्ता समस्याको समाधान गर्न मिडियाले प्रशिक्षकको भूमिका मार्फत योगदान गर्न सक्छ ।
लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो । जब कुनै पनि बहाना खोजेर निर्वाचन ‘आज नगरौँ पछि गरौँ’ भन्ने प्रपञ्चमा कुनै सरकार लाग्छ भने त्यो सरकारमा स्वतः लोकतान्त्रिक आचरणको कमी देखिन्छ । भनिन्छ, प्रजातन्त्रमा जनताले निर्वाचित नगरेका कुनै व्यक्तिले शासन गर्न पाउँदैनन् । दुनियाँमा विद्यमान लोकतन्त्रको मान्यता पनि यही हो । लोकतन्त्रलाई जीवन भर्न आवश्यक पर्ने केही तत्वमध्ये निर्वाचन सबैभन्दा महत्वपूर्ण र अत्यावश्यक तत्व हो । अनि आवधिक निर्वाचनलाई निष्पक्ष रूपमा सफल बनाउन सुसूचित नागरिकको सहभागिता पनि त्यत्तिकै आवश्यक पर्दछ । त्यसैले निर्वाचनका समयमा मिडियाको महत्व रहेको हुन्छ ।
विश्वका बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्था भएका लोकतान्त्रिक राज्यमा स्वीकारिएको मत र विधि निर्वाचन नै हो । त्यसैले निर्वाचन र यससँग जोडिने हरेक प्रक्रियामा मिडियाको भूमिका महत्वपूर्ण र संवेदनशील रहने गर्दछ । मतदाताको मत दिने अधिकार हो भने उम्मेदवारको मत माग्ने अधिकार । यी दुवै अधिकारको सम्मान मिडियाबाट पनि सम्यक रुपमा हुनुपर्दछ । कुनै उम्मेदवारले आफ्नो मतमाग्ने अधिकार प्रयोग गरेको अवस्थालाई पक्षधरता लिएर माथि पुर्याइदिने र अर्काे कुनै उम्मेदवारले त्यही अधिकार प्रयोग गर्दा त्यसमाथि उपेक्षा गरिदिने जस्ता मिडियाका व्यवहार असन्तुलित ठहरिन्छन् ।
किनभने त्यहाँ मतदाता एकैथरि छन् तर उनीहरुसँग मत माग्ने उम्मेदवार भने कैयौँ छन् । चुनावका बेलामा मिडियाले पुर्याउनुपर्ने खास विवेक भनेकै यही हो । जुन पक्षधरताविहीन हुनुपर्दछ र सबै दल, उम्मेदवार र मतदाताप्रति सन्तुलित र सम्यक दृष्टिकोण राख्नुपर्दछ ।
अघिल्लो अर्थात् विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनलाई पनि एउटा सफलताको कथाका रुपमा हामीले लिन सक्दछौँ । किनभने शान्ति सुरक्षासहित एकैदिन देशभर मतदान, निष्पक्ष निर्वाचन, पर्चा पम्प्लेट बिना नै देशव्यापी रुपमा गरिएको चुनाव प्रचार, सामाजिक सञ्जालामा देखिएको मिथ्या सूचना र भ्रमपूर्ण अभिव्यक्तिको नियन्त्रण त्यस चुनावका राम्रा उदाहरणहरु हुन् । मिडियाले यी राम्रा उदाहरणलाई सफलताका कथाका रूपमा प्रचार गरिदिने हो भने यसले निर्वाचनसम्बद्ध निकाय र कर्मचारीलाई अबका निर्वाचनमा पनि राम्रा र सकारात्मक उदाहरणलाई अनुसरण गर्न प्रेरणा मिल्नेछ । त्यसैगरी पछिल्लो समयमा घट्दै गएको बदर मत सङ्ख्या तथा राजनीतिक दलहरुले आफैँले आफ्ना निर्वाचन क्षेत्रमा पुगेर दिएका जानकारीहरु पनि निर्वाचनका सकारात्मक उदाहरण हुन् ।
त्यसैले निर्वाचनका समयमा मिडिया आफैँ स्वतन्त्र र निष्पक्ष हुनु जरुरी छ । कतै ढल्किएको या तर्किएको मिडियाका कारण निर्वाचनको निष्पक्षतामाथि नै असर गर्न सक्छ । मिडियाको तागत निष्पक्षता, स्वतन्त्रता र निर्भयतामा नै छ । कसैको लोभलालचमा फसेको मिडियासँग दरिलोसँग प्रश्न गर्ने दम नै हुदैन । अभाव, दबाब र प्रभावबाट मुक्त मिडियाले मात्र सही प्रश्न उठान गर्न सक्छ र सामाजिक चेतनाका लागि जनता जगाउन सक्छ । अनि यस्ता मिडियाले मात्र मुलुकमा निष्पक्ष निर्वाचनका लागि सघाउन सक्छ ।
यसकारण मिडिया सदैव स्वतन्त्रता भन्ने शब्दसँगै जोडिएर आउने गर्दछ । स्वतन्त्रता र निष्पक्षता मिडियाको स्वभाव र कामका पर्यायवाची शब्द हुन् । कुनै खेलका ‘रेफ्री’ ले जति निष्पक्षतापूर्वक खेल सञ्चालन गर्न सघाउँछ त्यति नै त्यो खेल मर्यादित भएजस्तै मिडियाले पनि ‘रेफ्री’को भूमिका निर्वाह गर्नसक्दा सामाजिक मर्यादा कायम रहन्छ । निर्वाचनका बेलामा पनि मिडियाको यस्तै भूमिका सर्वत्र अपेक्षित हुन्छ ।
समग्र मिडिया एवं सामाजिक सञ्जालका प्रयोगकर्ताले पनि आजका दिनमा बुझ्नुपर्ने कुरा के हो भने अहिलेको निर्वाचन फरक र विशेष खालको हो । हुनत सबै निर्वाचनले कुनै न कुनै सन्देश र फरक अवस्था या प्रसङ्ग बोकेकै हुन्छ । तर पनि देशमा भएका धेरै पटक र खालका आन्दोलनमध्ये गत भदौमा भएको आन्दोलन फरक विषय र परिवेशको थियो । कुनै राजनीतिक पार्टीले अघि सारेको नभएर जेनजी पुस्ताले थालेको आन्दोलनबाट नै राज्यसत्तामा ठूलो परिवर्तन आयो र अहिले त्यो आन्दोलनको छ महिनामा नै निर्वाचन हुन गइरहेको छ ।
सो आन्दोलनले शासन सत्तामा युवा पुस्ताको सहभागिता र सुशासनको प्रत्याभूतिको माग अघि सारेको थियो । यिनै दुई परिस्थितिको आवरणभित्र यो चुनाव हुन गइरहेको छ । त्यसैले यो चुनाव आवधिक नभएर आकस्मिक हो र सहज नभएर असहज अवस्थामा हुन गइरहेको छ । यस पटकको निर्वाचनमा अघिल्ला निर्वाचनमा जस्तो तयारीका लागि आवश्यक समय पनि थिएन । यसकारण पनि यो निर्वाचनको विशेषता र विशिष्ठता बुझेर देशका मिडिया तथा सबै राज्य संयन्त्रले आवश्यक सहयोग गर्नुपर्ने अवस्था छ । –––





Facebook Comments