अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अत्यधिक वृद्धि भएपछि नेपालका निर्माण व्यवसायीहरूले ‘निर्माण आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेका छन्। मूल्यवृद्धि, सरकारी भुक्तानीमा ढिलाइ र सामग्री अभावका कारण देशभरका राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडक निर्माण कार्य प्रभावित भएका छन्।
पश्चिम एसियामा जारी द्वन्द्व तथा विश्व बजारमा देखिएको अस्थिरताका कारण इन्धन र निर्माण सामग्रीको मूल्य अनियन्त्रित रूपमा बढेपछि निर्माण क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको व्यवसायीहरूको भनाइ छ।
नेपाल निर्माण व्यवसायी महासंघ, प्रदेश संघहरू तथा नेपाल निर्माण उद्योग परिसंघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने अवस्था आएको बताएका छन्। उनीहरूले सरकारले तत्काल मूल्य समायोजन गर्न ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ जारी गर्न माग गरेका छन्।
व्यवसायीका अनुसार बजारमा डन्डी, बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य तीव्र रूपमा बढेको छ। ७० रुपैयाँ पर्ने डन्डी ९५ रुपैयाँ पुग्नु र ८५ रुपैयाँको बिटुमिन १४५ रुपैयाँसम्म पुग्दा लागत असह्य बनेको उनीहरूको गुनासो छ।
निर्माण सामग्रीको अभाव, दक्ष कामदारको कमी र अनिवार्य नगद भुक्तानीको दबाबले निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको व्यवसायीहरूको भनाइ छ। साथै सरकारी भुक्तानी समयमा नहुँदा आर्थिक संकट झन् गहिरिएको उनीहरूले बताएका छन्।
नागढुंगा–मुग्लिन सडक विस्तार, धुलिखेल–खावा सडकखण्ड, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजना प्रभावित भएका छन्। कालोपत्र गर्ने मुख्य सिजनमै बिटुमिन अभाव र मूल्यवृद्धिका कारण काम रोकिन थालेको निर्माण व्यवसायीहरूको भनाइ छ।
नेपाल आयल निगमले पछिल्लो समय तीन पटक मूल्य समायोजन गरिसकेको छ। सरकारले भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरे पनि त्यसको प्रभाव सकारात्मक नदेखिएको व्यवसायीहरूको दाबी छ।
निर्माण व्यवसायीहरूका अनुसार इन्धन र ढुवानी लागत बढेसँगै आयोजनाको लागत अनुमानभन्दा निकै माथि पुगेको छ। एकातर्फ मूल्यवृद्धिको मार र अर्कोतर्फ सरकारी भुक्तानी ढिलाइका कारण निर्माण क्षेत्र थप संकटमा परेको उनीहरूको निष्कर्ष छ।

Facebook Comments