काठमाडौं ।  शनिबार राति करिब १०ः३० बजे बालेन शाह नामको फेसबुक खाताबाट एउटा स्टाटस आयो । स्टाटसमा लेखिएको थियो–मलाई पनि एम्बेसडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुस न । धेरैलाई लाग्यो यो फेसबुक प्रधानमन्त्री बालेनको आफ्नै नभै नक्कली हो । बालेनको एउटा फेसबुक बालेन मात्र लेखिएको छ, अर्को बालेन शाह ।

बालेन शाह नामको फेसबुकबाट स्टाटस सार्वजनिक भएको हो । खास गरी बालेनको स्टाटस गलत लाग्ने तर बालेन मन पराउनेहरुले उक्त फेसबुक आइडी गलत हो कि भन्ने खोजे, गलत भइदिए हु्न्थ्यो भन्ने पनि चाहना राखेको पाइयो । बालेनलाई गलत भन्नै नचाहनेहरुले फेसबुक आइडी चाँही नक्कली हो कि भन्ने आश गरे ।

तर बालेनको सक्कली अर्थात बालेन आफैले प्रयोग गर्ने आइडीबाटै स्टाटस आएको स्पष्ट भएपछि बालेनका कट्टर फ्यान, जसले उक्त स्टाटसलाई गलत ठाने, उनीहरु मौन बसे । केही समर्थक भने बचाउ गर्न पछि परेनन् । प्रधानमन्त्री जस्तो व्यक्तिले लेखेको विषय गम्भीर हुनुपर्ने हो, तर त्यसो होइन, उनको स्ट्याटस नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई गर्न खोजिएको व्यंग्य हो। तर यस्तो ‘स्तरहीन’ व्यंग्यले प्रधानमन्त्री पदको गरिमालाई बढाउन मद्दत अवश्य गर्दैन । प्रधानमन्त्रीले आफूलाई व्यक्तिगत स्वार्थवस एसएमएस लेखेको आरोपमा सचिव पुष्करलाई प्रहरी लगाएर पक्राउ नै गराएका थिए ।

यसबाट उनले आफू कुनै पनि भनसुन र चाकडी नसहने सन्देश दिन खोजे । यद्यपि पक्राउ गरेर सात घन्टा हिरासतमा राख्नुपर्ने अपराध थिएन त्यो । प्रधानमन्त्रीले सचिवलाई स्पष्टिकरण सोधेको भए त्यो बढी औचित्यपूर्ण मानिन्थ्यो । सरकारको बहालबाला सचिवलाई कुनै संगीन अपराधविना प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेर लैजाने कार्य विधिसम्मत मान्न सकिन्न । तर, यतिले नपुगेर प्रधानमन्त्री शाह सचिव पुष्करको सार्वजनिक बेइज्यतिमै उत्रिन खोजेका छन् । आफ्नै मातहतको एउटा कर्मचारीलाई यसरी पब्लिक प्लेटफर्ममा तेजोबध गर्न खोज्नु प्रधानमन्त्रीको पुरूषार्थ हुँदै होइन ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा यदाकदा हास्यरस प्रयोग गर्न सक्छन्, तर संवेदशील विषय र जिम्मेवार पात्रमाथि मजाक गर्नु कति स्वभाविक हो भन्ने प्रश्न उब्जिएको छ । जे होस प्रधानमन्त्रीको व्यक्तिगत फेसबुक खातामा पोस्ट भएको स्ट्याटस देखेर सबै छक्क परेका छन् ।

बिडम्वभना त के भने प्रधानमन्त्रीको कोर टीम तथा रास्वपा सांसदहरूको अर्को गैरजिम्ेवारीपनि देखियो । प्रधानमन्त्रीको कोर टीम र रास्वपाका सांसदहरू उनको कमेन्ट बक्समा आएर मनोरञ्जन लिइरहेका छन् । प्रधानमन्त्रीको स्टाटसमा शिक्षामन्त्री सस्मित पोखरेल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला लगायतले कमेन्ट गर्दै जिस्किरहेका छन् । 

बालेन लेख्छन्
–मलाई पनि एम्बेसडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुस न ।

सरकारकास प्रवक्तासमेत रहेका सस्मित पोखरेलको प्रतिक्रिया
– म्यासेज गर्दिम ?

प्रधानमन्त्री राजनीतिक सल्लाहकार असिम शाहको प्रतिक्रिया
–म भन्दिउला पिएमलाई

रास्वपाकी सांसद रन्जु दर्शनको प्रतिक्रिया
–पिएम पनि एम्बेसडर पनि बन्न पाइदैन, एउटा चुज गर्नुस पहिला

रास्वपाकी सांसद ज्वाला संग्रौलाको प्रतिक्रिया
–मसँग छ तर दिन्न

प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक खाताबाट आएको उक्त स्टाटस र त्यसमा भएका प्रतिक्रिया वास्तविक नै रहेको पुष्टि भएको छ ।