काठमाडौं । रसुवाको भोटेकोशीसहितका क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिनियाँ उद्धार टोली तथा अन्य प्राविधिक टोलीले खोज, उद्धार र राहतलाई तीव्रता दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १९ गते साँझ ६ बजेसम्मको स्थिति प्रतिवेदन सार्वजनिक गर्दै जलविद्युत् आयोजनाका सुरुङदेखि बाढी प्रभावित बस्ती र नदी किनारसम्म खोज तथा उद्धार भइरहेको जनाएको छ।

प्रतिवेदनअनुसार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको सफल उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र CSSR टोलीले उद्धार कार्य जारी राखेको छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा हेलिकप्टरमार्फत एक्साभेटर पुर्‍याएर नेपाली सेना, सशस्त्र प्रहरी, CSSR टोली र विद्युत् कर्मचारीको संयुक्त टोलीले सुरुङभित्र करिब ३० मिटर पुगेर खोजी तथा उद्धार गरिरहेको छ।

अपर त्रिशूली–१ (UT-1 216) आयोजनामा नेपाली सेना र चीनबाट आएको विज्ञ टोलीसहितको समूहले टनेल हेड हाकुसम्म करिब ३०० मिटर र टनेल टेल मेलुङसम्म करिब २५० मिटर भित्र पुगेर खोज तथा उद्धारको प्रयास गरिरहेको छ।

चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेना, चिनियाँ विज्ञ टोली र CSSR ले करिब १७० मिटर भित्रसम्म पुगेर खोजी गरिरहेको छ। रसुवागढी आयोजनामा करिब २७५ मिटर भित्रसम्म खोज तथा उद्धार कार्य भइरहेको प्रतिवेदनमा उल्लेख छ। लाङटाङ आयोजनामा पनि करिब १५० मिटर भित्रसम्म खोज तथा उद्धार भइरहेको छ।

यसैगरी, नेपाल प्रहरीले २ वटा कुकुर र ४ जना जनशक्ति रहेको केनाइन टोलीसहित १२ जनाको टोली परिचालन गरी मैलुङ क्षेत्रमा खोजी गरिरहेको छ। प्रहरीको १० जनाको श्रव्य–दृश्य विज्ञ टोलीले ड्रोनमार्फत बाढी प्रभावित खोलाका किनारमा अवस्थाको निरीक्षण र विवरण संकलन गरिरहेको छ। समग्रमा करिब ४५९ जना नेपाल प्रहरी खोज तथा उद्धारका लागि परिचालन भएका छन्।

बाढी प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टर, खोला किनार तथा राहत संकलन एवं वितरण केन्द्रमा सशस्त्र प्रहरी बलका करिब ४५० जना परिचालन गरिएको छ।

३३१ बिरामीको उपचार, ४ जनाको मृत्यु

प्रतिवेदनअनुसार विभिन्न १८ वटा स्वास्थ्य संस्थामा ३३१ जना बिरामीको उपचार गरिएको छ। उपचारपछि २०७ जना डिस्चार्ज भएका छन् भने ७० जना उपचाररत छन्। ३० जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ। उपचारकै क्रममा ४ जनाको मृत्यु भएको जनाइएको छ।

४,५२१ जना होल्डिङ सेन्टरमा

रसुवाका ११ वटा होल्डिङ सेन्टरमा १,१४४ जना, नुवाकोटका २४ वटा केन्द्रमा ३,१८८ जना र धादिङका ३ वटा केन्द्रमा १९९ जना प्रभावितले आश्रय लिइरहेका छन्। यसरी तीन जिल्लाका ३८ वटा होल्डिङ सेन्टरमा कुल ४,५२१ जना आश्रय लिइरहेका छन्।

यसैबीच, मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकबाट विभिन्न निर्णय गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन कमान्ड पोस्ट सक्रिय बनाइएको छ। स्वास्थ्य, सञ्चार, सडक तथा विद्युत् पुनःस्थापनाका लागि १६ वटा विषयगत टोलीमार्फत काम भइरहेको प्रतिवेदनमा उल्लेख छ।

यता कृष्णभीरमा ‘टो कटिङ’का कारण मुग्लिन–मलेखु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि पहाडतर्फ खनेर नयाँ ट्र्याक बनाउने काम सुरु गरिएको छ। परेवा भीर खण्डमा भने यातायात सञ्चालनमै रहेको प्राधिकरणले जनाएको छ।