काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको आरोप लगाएका छन् । गिरिजाप्रसाद कोईराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको आरोप लगाएका हुन् । उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गरे । 

विसं २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै नै रहेको उनको भनाइ छ । उनले विपतपछिको पुनर्निर्माणमा ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको सोच नै सरकारको निर्णय बन्ने हुँदा सही आर्थिक दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।

थापाले पार्टीको १५औँ महाधिवेशनमा भाग लिनबाट कुनै पनि नेतालाई वञ्चित नगरिएको दाबी गरेका छन्। महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने र सबै नेता–कार्यकर्ताले त्यसमा सहभागी हुन पाउने उनले बताए।

सभापति थापाले आगामी असोज ४ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रारम्भ हुने जानकारी दिए।

‘कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट बञ्चित गरिएको छैन, सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ र प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘जसले जिम्मेवारी पाउनुहुन्छ, उहाँ नेतृत्वमा रहनुहुन्छ। प्रतिस्पर्धामा जिम्मेवारी नपाउने साथीहरूलाई पनि समेटेर सबैलाई लिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ।’

आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको सभापति थापाले औंल्याए। पार्टीभित्र देखिएको समस्यामा मात्र अल्झिराख्दा नागरिकसँगको सम्बन्ध झन् कमजोर हुनेतर्फ पार्टी गम्भीर रहेको उनको भनाइ छ।

‘अधिवेशनले त अहिले पार्टीभित्रको कुरा मात्रै मिलाउँछ। नागरिकसँगको विश्वासलाई पुनःस्थापित गर्नुपर्नेछ, त्यो पुनःस्थापित गर्ने यात्रामा हामी निस्कन्छौँ,’ उनले अगाडि भने, ‘महाधिवेशन सम्पन्न गर्नासाथै हामी देशभरि जानुपर्नेछ। ७७ जिल्ला पुग्छौँ, गाउँगाउँ जान्छौँ।’

महाधिवेशन र दशैँलगत्तै नागरिकसँगको सम्बन्ध सुधार गर्न र उनीहरूको विश्वास जित्न कांग्रेसले देशव्यापी रूपमा विशेष अभियान सञ्चालन गर्ने सभापति थापाले घोषणा गरेका छन्।