
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको एउटा अभिव्यक्तिले नेपालको राष्ट्रियता, परराष्ट्र नीति र भारतसँगको सम्बन्धबारे राजनीतिक बहस चर्काएको छ । भारतसँगको सम्बन्धलाई आर्थिक समृद्धि र सहकार्यमा केन्द्रित गर्नुपर्ने वाग्लेको भनाइलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले प्रश्न उठाएका छन् । उनीहरूको मुख्य आपत्ति भारतसँग सम्बन्ध सुधार्न खोजेकोमा भन्दा पनि नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर त्यसको एउटा युग समाप्त भएको घोषणा गरिएको भाषामा छ ।
अर्थमन्त्री वाग्लेले अक्टोबर २३ मा नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा बोल्दै नेपाल र भारतबीचको सम्बन्ध गहिरो रहेको र दुवै देशले सहकार्यलाई नयाँ उचाइमा पु¥याउनुपर्ने बताएका थिए । भौगोलिक निकटतासँगै सांस्कृतिक सम्बन्धले पनि दुई देशलाई जोडेको उल्लेख गर्दै उनले नेपाल र भारतबीच कहिलेकाहीँ समस्या देखिए पनि दुवै देश एकअर्कासँग निकट रूपमा जोडिएको बताएका थिए ।
नेपालमा विगतमा नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिएको उल्लेख गर्दै वाग्लेले अहिले त्यो युग समाप्त भएको बताएका थिए । नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि, रोजगारी, सुशासन र छिमेकीसँग राम्रो सम्बन्ध रहेको उनको भनाइ थियो । भारतको आर्थिक विकासले नेपालका लागि पनि अवसर सिर्जना गर्न सक्ने उल्लेख गर्दै उनले क्षेत्रीय आर्थिक एकीकरण, व्यापार, पुँजी र मानिसको आवागमन सहज बनाउने अवधारणासमेत अघि सारेका थिए ।
नेपालमा आएको भूकम्प र हालैका बाढीका घटनामा भारतले सहयोग गरेको प्रसंग उल्लेख गर्दै वाग्लेले दुई देशबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले पनि द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उनको अपेक्षा थियो ।
तर, वाग्लेको अभिव्यक्ति सार्वजनिक भएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले त्यसको आशय, कूटनीतिक औचित्य र राष्ट्रिय हितसँगको सम्बन्धबारे प्रश्न उठाउन थालेका छन् ।
नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वाग्लेको अभिव्यक्तिलाई गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं राष्ट्रिय हितमा आँच पु¥याउन सक्ने खालको बताएका छन् । नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको उनको तर्क छ ।
ज्ञवालीले कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको भावनाका रूपमा व्याख्या गर्न नमिल्ने उल्लेख गर्दै अर्थमन्त्रीले कुन युगको कुरा गरेका हुन् भन्ने प्रश्न गरेका छन् । विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नै देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उपयुक्त नभएको उनको भनाइ छ ।
नेपालले भारतसँग सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रवत् सम्बन्ध चाहेको उल्लेख गर्दै ज्ञवालीले दुई देशबीचका समस्या लुकाएर सम्बन्ध बलियो नहुने बताएका छन् ।
सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिका केही प्रावधान, नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश पाउँदा भोग्नुपर्ने अवरोध, बढ्दो व्यापार घाटा, सीमामा निर्माण गरिएका संरचनाका कारण हुने डुबान र वैकल्पिक हवाई प्रवेश मार्गको विषय नेपालका महत्त्वपूर्ण सरोकार भएको उनको भनाइ छ । यी विषय उठाउनु भारतको विरोध नभई नेपालको राष्ट्रिय हितको रक्षा गर्नु भएको ज्ञवालीले बताएका छन् ।
उनका अनुसार यस्ता समस्या समाधान गर्न बलियो राष्ट्रिय सहमति र त्यसका आधारमा गम्भीर कूटनीतिक पहल आवश्यक छ । राष्ट्रिय हितका विषयलाई बेवास्ता गरेर वा तुष्टीकरणको नीति अपनाएर राष्ट्रिय स्वाभिमान बलियो नहुने उनको तर्क छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भनेका छन् । नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नरहेको उल्लेख गर्दै थापाले भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहनु र राष्ट्रिय हितका विषयमा स्पष्ट बोल्नु परस्पर विरोधी नभएको बताएका छन् ।
सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको उनको भनाइ छ । सानो समूहका केही विचारका आधारमा समग्र नेपाली राष्ट्रिय भावनालाई संकुचित रूपमा व्याख्या गर्न नमिल्ने थापाले बताएका छन् ।
थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै अर्थमन्त्रीको अभिव्यक्ति सरकारकै आधिकारिक धारणा हो कि होइन भन्ने प्रश्नसमेत उठाएका छन् । जिम्मेवार पदमा रहेका व्यक्तिले विदेशी मञ्चमा दिएको यस्तो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने उनको माग छ ।
उनले वाग्लेको विगतको ‘मनरो डक्ट्रिन’ सम्बन्धी धारणासँग पनि पछिल्लो अभिव्यक्तिलाई जोडेर प्रश्न गरेका छन् । यसले नेपालले आफ्नो राष्ट्रिय स्वाधीनता र समानताको पक्षमा अडान लिन नहुने सन्देश दिएको हो कि भन्ने उनको आशंका छ ।
एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि वाग्लेको भनाइको कडा आलोचना गरेका छन् । उनले नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने र त्यसको युग समाप्त भएको घोषणा गर्ने तर्कलाई राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक दृष्टिले कमजोर भएको टिप्पणी गरेका छन् ।
भारत भ्रमणका क्रममा वाग्लेले नेपालबारे दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै बाँस्कोटाले सामाजिक सञ्जालमा त्यसलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाइ’ भनेका छन् । राष्ट्रिय हित र राष्ट्रवादको सम्बन्धलाई भारतको विरोध वा समर्थनका आधारमा मात्र व्याख्या गर्न नमिल्ने उनको आशय छ ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले पनि वाग्लेको अभिव्यक्तिको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाएका छन् । नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै उनले राष्ट्रिय हित, स्वाभिमान र सार्वभौम समानताको सिद्धान्तलाई गौण बनाउन नमिल्ने बताएका छन् ।
आचार्यका अनुसार नेपाल–भारत सम्बन्ध ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतिक आधारमा स्थापित छ । यसलाई पारस्परिक सम्मान, विश्वास, समानता र साझा हितका आधारमा अघि बढाउनुपर्छ ।
भारतसँग व्यापार, पारवहन, ऊर्जा, लगानी र कनेक्टिभिटी विस्तार गर्नुपर्ने आवश्यकता स्वीकार गर्दै उनले सीमा विवादलगायत द्विपक्षीय सरोकारमा नेपालको स्पष्ट अडान पनि कायम रहनुपर्ने बताएका छन् । मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधारका नाममा सबै असहमति त्याग्नुपर्छ भन्ने दुवै अतिवादी दृष्टिकोण भएको उनको तर्क छ ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वाग्लेको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै नेपालले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीति सधैँ अवलम्बन गरेको बताएका छन् । उनका अनुसार नेपालले विरोध गर्दै आएको विषय भारतसँगको मित्रता नभई शोषण, उत्पीडन, विस्तारवादी र हस्तक्षेपकारी नीतिसँग सम्बन्धित छ ।
श्रेष्ठले वाग्लेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनता र समानताको पक्षमा आवाज उठाउनु हुँदैन भन्ने आशय दिएको हो कि भन्ने प्रश्न गरेका छन् । राष्ट्रियताको विषयमा यस्तो अभिव्यक्तिलाई सामान्य अपरिपक्वताका रूपमा मात्र बुझ्न नसकिने उनको टिप्पणी छ ।
परराष्ट्र मामिलाका जानकार तथा अमेरिकाका लागि पूर्वनेपाली राजदूत डा. दिनेश भट्टराईले नेपाली राष्ट्रवादको आधार देशको स्वतन्त्रता, सार्वभौमिकता र जनताको हित भएको बताएका छन् । नेपालको पक्षमा यथार्थवादी र व्यावहारिक रूपमा बोल्नुलाई भारतविरोध भन्न नमिल्ने उनको तर्क छ ।
केही राजनीतिक दलले भारतविरोधी राष्ट्रवादको भाष्य निर्माण गरेका हुन सक्ने भए पनि त्यसलाई समग्र नेपालको राष्ट्रिय भावनाका रूपमा व्याख्या गर्न नमिल्ने उनले बताएका छन् ।
भट्टराईले अभिव्यक्तिको विषयवस्तुका साथै समय र स्थान पनि कूटनीतिमा महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । बहालवाला मन्त्रीले विदेशी मञ्चमा आफ्नै देशको राष्ट्रिय भावनाबारे सामान्यीकरण गरेर बोल्दा त्यसले कस्तो सन्देश दिन्छ भन्ने प्रश्न उनले उठाएका छन् ।
एमाले सचिव तथा परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले वाग्लेको अभिव्यक्तिलाई गम्भीर विषयका रूपमा व्याख्या गरेका छन् । नेपालले आफ्नो राष्ट्रिय हितका विषय उठाउँदा भारतविरोधीको आरोप लाग्ने गरेको सन्दर्भमा बहालवाला अर्थमन्त्रीले नै दिल्लीमा दिएको अभिव्यक्तिले थप प्रश्न जन्माएको उनको भनाइ छ ।
नेपालले सीमासम्बन्धी विवाद, डुबान, व्यापार र अन्य द्विपक्षीय सरोकार उठाउँदा त्यसलाई भारतविरोधी राष्ट्रवादका रूपमा व्याख्या गरिने हो कि भन्ने प्रश्न भट्टराईले गरेका छन् । राष्ट्रिय हितका विषयमा नेपालको अडान प्रस्तुत गर्नु कूटनीतिक सम्बन्धको स्वाभाविक हिस्सा भएको उनको तर्क छ ।
वाग्लेको अभिव्यक्तिमाथि विपक्षी दलका नेताहरूले लगातार प्रश्न उठाइरहँदा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भने तत्काल औपचारिक धारणा सार्वजनिक भएको देखिएन ।


Facebook Comments