जाजरकोट । जाजरकोट कारागारमा थुनामा रहेका एक युवक झुण्डिएकाे अवस्थामा मृत भेटिएका छन् । भेरी नगरपालिका-१० का २६ वर्षीय दीपक बुढाले आइतबार बिहान कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रशाद शर्माका अनुसार उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए । मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेका हुन् ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको छ डीएसपी शर्माले भने, ‘मुचुल्का उठाउने र प्रमाण संकलनको काम भइरहेको छ ।’ दीपकले आत्महत्या गर्नुको कारण खुल्न बाँकी छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएकाे छ ।