काठमाडौँ । सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ। सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा यसबारेमा जानकारी गराइएको हो।

सरकारले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताए। उनका अनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहने छन्।

जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित गणतन्त्र दिवस  मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तीन तहकै सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ।

यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ। जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ।