काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरीका निमित्त प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । केही दिनअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।

महानगर स्रोतका अनुसार पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ । गुरागाईं हिजो सोधेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेको स्रोतले बतायो । काठमाडौंका मेयर बालेन्द्र साहले अघोषितरूपमा निलम्बनमा राखेका गुरागाईं गत २१ चैतमा महानगर कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । त्यस दिन नगर प्रहरीले उनलाई अवरोध गर्ने प्रयास गरेको थियो ।

नगर प्रहरी प्रमुख पाण्डेकै नेतृत्वमा बाक्लो संख्यामा नगर प्रहरी उनलाई रोक्न खटिएका थिए । स्रोतका अनुसार स्पष्टीकरण पत्रमा मुख्य विषय यही नै छ । कानूनी व्यवस्थाअनुसार नगर प्रहरी प्रशासकीय अधिकृतको मातहतमा रहेर काम गर्नुपर्छ । तर, निमित्त प्रमुख पाण्डे भने मेयर साहबाट सिधा परिचालित हुँदै आएका छन् । घटनापछि उनले गुरागाईंसँग माफी मागेका थिए ।