
काठमाडौँ । अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । बुधबार थापाका तर्फबाट अधिवक्ता अमृतकुमार केसीले लिखित जवाफ पेस गरेका हुन् ।
थापाले वैशाख ११ गते ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए । थापाको उक्त अभिव्यक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । न्यायाधीश सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेयको इजलासले वैशाख १६ गते थापासँग लिखित जवाफ माग गर्ने आदेश गरेको थियो ।
थापाले अधिवक्ता केसीमार्फत पठाएको जवाफमा अभिव्यक्ति स्वतन्त्रता निरपेक्ष हुन नसक्ने तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित वा सङ्कुचन पनि गर्न नपाइने भनिएको छ । स्वस्थ आलोचनाले अदालतको प्रतिष्ठामा आँच पुऱ्याउने र अदालतको अधिकारलाई चुनौती दिने नभई यसले न्यायिक जबाफदेहिता सुनिश्चित गर्न मद्दत पुऱ्याउने जवाफमा उल्लेख गरिएको छ ।
आफूले व्यक्त गरेको अभिव्यक्ति अदालतको न्याय सम्पादनको कार्यमा अवरोध गरेको आदेश वा फैसला अवज्ञा गरेको विषयसँग सम्बन्धित नरहेको उनको जिकिर छ ।







Facebook Comments