
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरूलाई बोल्नका लागि सभापतिले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो । सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापतिले रोक्नु दुर्भाग्य भएको बताए । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनको आरोप छ ।
सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाएका थिए । सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाएका थिए ।
त्यस्तै, सभापति पोखरेलले हरेकपटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफूलाई समिति सभापतिले नभई पार्टीले पठाएको जवाफ दिएका थिए ।भनाभनका क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युबबाट विज्ञापन गर्नका लागि स्टन्ट गरेको जिकिर गरेका थिए ।
यसैबीच, सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न गठित विभिन्न उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । समितिमा परेका उजुरीमध्ये ४८ वटा उजुरी छानबिनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो ।







Facebook Comments