वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्युको समय थप गरेको छ। आइतबार राती १२ बजेसम्म कर्फ्यू थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा  शनिबार दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ६:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार राती १२ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो। कर्फ्यूको समय थप गरेसँगै वीरगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

उनका अनुसार पूर्वमा वीरगन्ज-१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज(२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज-१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज-१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको हो।

शनिबार अपरान्हदेखि निस्किएको हिन्दूहरूको शोभायात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समूहबीच झडप सुरु भएको थियो। त्यसक्रममा छपकैयाका दुई वटा बिरियानी हाउस, केही मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो। बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो, काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनीपनि गरियो। त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनी पनि गरियो।

दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै अश्रुग्यास र हवाई फायर पनि प्रहार गरेको थियो।  झडपमा परी प्रहरी र स्थानीय गरी ४० जना घाइते भएका छन्। प्रहरीतर्फ पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रसिंहसहित २५ जना प्रहरी घाइते भएका छन्।

घाइतेहरूको वीरगन्जको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको छ।