काठमाडौं । नेपाल सरकारले श्रमिकको उपचारका लागि रोजगारदाता मुलुकलाई जिम्मेवार बनाउनेगरी विश्व स्वास्थ्य संगठनमा प्रस्ताव लाने तयारी गरेको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले श्रमिकहरूले रोजगारदाता मुलुकमा उपचार नपाउने अवस्था अन्त्यका लागि आगामी वर्ष यस्तो प्रस्ताव लाने तयारी भएको जानकारी दिएका हुन् । ‘उमेर र शक्ति रहुन्जेल श्रम गर्ने त्यसपछि रोग बोकेर स्वेदेश फर्किने अवस्था अन्त्यका लागि नेपालले यस्तो प्रस्ताव लान लागेको हो,’ उनले भने ।

यो प्रस्ताव औपचारिक रूपमा पेस गर्नुअघि एकवर्षसम्म त्यसको पर्याप्त गृहकार्य गर्ने पौडैलको भनाइ छ । विश्व स्वास्थ्य संगठनको नीतिगत प्रबन्धमा समेत नेपालले धारणा राख्नुपर्ने उनले बताए । ‘सम्मेलनमा गएर भेटघाट गरेर फर्किने मात्रै होइन नीतिगत प्रबन्धिमा परिमार्जनका लागि पनि नेपालले अब भुमिका निर्वाह गर्नुपर्छ,’ उनले भने ।