
काठमाडौं । गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन। अहिले पनि पानी पर्नेबित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रि-मनसुनकै समयमा यात्रु ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रुपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्णरूपमा अवरुद्ध हुन्छ। खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ। असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्मे पानी आइपुग्ने गरेको छ। ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ।
असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्णरूपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जगबाटै पूर्णरूपमा बगेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ ।
बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारीचालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन्।







Facebook Comments