
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । सोमबार ९ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो । आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि आइतबार कांग्रेस–एमालेका शीर्ष नेताबीच यस विषयमा छलफल भएको थियो । उक्त छलफलमा सामाजिक सञ्जालमा आरोप लगाएकै भरमा आरोप पुष्टि नहुने निष्कर्ष निकालिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएर उनका डिभाइस जफत गरेपछि शङ्काको सुई गृहमन्त्री लेखकसम्म पुगेको छ ।
यसबारे कांग्रेसका नेताहरूबिच लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्नेमा फरक फरक धारणा बाहिर आइसकेका छन् ।







Facebook Comments