काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ । सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो ।

बैठक राजीनामामा प्रवेश नगरेको उनको भनाइ छ । 'छानबिनको दायरामा गृहमन्त्री हुनुहुन्न, उहाँमाथि उजुरी छैन । उहाँ दोषी भन्न मिल्दैन,' बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।

महतका अनुसार, बैठकमा गृहमन्त्री लेखकले आफ्नो कुनै संलग्न नरहेको बताएका थिए । 'गृहमन्त्रीज्यूले जुन विषय अहिले सार्वजनिकरूपले मिडियामा, सामाजिक सञ्जालमा आएको छ, त्यस सम्बन्धमा उहाँले आफ्नो कुरा सविस्तार राख्नुभयो । तर, आफ्नो कुनै पनि हिसाबको संलग्नता छैन, मैले कुनै पनि कमजोरी गल्ती गरेको छैन भनेर सविस्तार राख्नुभयो,' उनले भने ।

शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको महतले बताए । उनले अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने प्रष्ट पारे ।