
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसारलाई जोगाउने हो भने सबैभन्दा पहिला नेपालमा रहेका उच्च हिमालहरूलाई जोगाउनुपर्ने बताएका छन् ।सगमाथा बेसक्याम्पबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा महामन्त्री शर्माले भनेका छन्( ‘जलवायु परिवर्तनको मुद्दामा सिंगो संसारलाई घच्घच्याऊँ, अनुरोध र दबाब दुवै मार्ग अपनाऊँ । अनि संसारलाई भनौं( यो संसारलाई जोगाउने हो भने सबभन्दा पहिले हाम्रा उच्च हिमालहरु जोगाउन जरुरी छ ।’
संसारका ८ हजार मिटर माथिका १४ मध्ये ८ वटा हिमाल (सगरमाथा, ल्होत्से, मकालु, कञ्चनजंगा, चोयु, धवलागिरी, मनास्लु र अन्नपूर्ण) नेपालमा हुनु साँच्चै नै हाम्रा लागि वरदान भएको उनले पत्रमा लेखेका छन् ।
‘यसबाहेक पनि हाम्रो गौरवको खातामा अन्य सयौं हिमाल छन् । ञजलवायु परिवर्तनले असर गर्दैछझ हामी काठमाडौमा बसेर सजिलो टिप्पणी गरिदिन्छौं । सरकारले समग्रमा हाम्रा हिमालहरूको अवस्थाका बारेमा नियमित अनुगमन गर्ने भरपर्दो संयन्त्रको विकास गरोस् । सँगैमा आरोहण हुने हिमालका बेसक्याम्पहरूमा सरकारको उपस्थिति सुनिस्चित गराओस्,’ उनले भनेका पत्रमा छन् ।
उनले अगाडि लेखेका छन्, ‘लोबुचे हिमालको शिखरदेखि सगरमाथाको काखसम्म पुग्दैगर्दा मेरो निष्कर्ष छ प्रधानमन्त्रीज्यू- हिमाललाई हामीले आयआर्जनको महत्त्वपूर्ण सम्पदा मात्रै सोच्यौं कि । यसलाई जलमल गर्नुपर्छ र गोडमेल गर्नुपर्छ भनेर कमै सोच्यौं कि । जलवायु परिवर्तनको मुद्दाले हामीलाई ब्युँझाएको बेला, प्रधानमन्त्री तहबाट नै नीति र योजना सहित अपिल होस् – आउ हाम्रा हिमालहरूको गोडमेल र संरक्षण गरौं । यी हिमाल सौन्दर्य मात्र होइनन्, हाम्रो सान-मान-स्वाभिमान र गौरवका प्रतीक पनि हुन् ।’







Facebook Comments