काठमाडौं। नेपाली कांग्रेस निकट नेविसंघकले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका छन् ।
नेविसंघका विद्यार्थी नेताहरुले आज उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् । साथै रेक्टर ढकालको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुकाे कार्यकक्षमा ताेडफाेड र तालाबन्दी गरेका हुन् ।
त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहकाे प्रथम वर्षकाे परीक्षा असारभित्र गराउनुपर्ने उल्लेख गरिएको छ । सोही शैक्षिक क्यालेन्डर अनुसार त्रिविले स्नातक पहिलो वर्षकाे परीक्षाका लागि फारम खुलाएको थियो । तर, नेविसंघका कार्यकर्ताहरुले भने शैक्षिक क्यालेण्डर विपरित यतिबेला विद्यार्थीको भर्ना लिन दबाब दिएकाे छ ।
शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै शैक्षिक गतिविधि गर्ने अडान भीसी र रेक्टरले लिएका थिए । दुबैजना आफनो अडानबाट टसमस नभएपछि नेविसंघको नेताहरुले भिसीको कार्यकक्षमा तोडफोड गरेका छन् भने रेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
भिसी केसीले अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको क्यालेण्डर नबिगार्ने बताएका छन् । उनले भने,‘त्रिविको शैक्षिक क्यालेण्डर अनुसार नै हामीले विद्यार्थीको भर्ना गर्ने समय दिएका थियौं । सोही अनुसार परीक्षा पनि गराउन लागेको हो । परीक्षा फारम खोलेर बन्द हुन लागिसकेको अवस्थामा फेरि भर्ना लिइ भनेर दबाब दिन मिल्दैन ।’
उनले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब आएको बताए । अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको क्यालेण्डर नबिगार्ने उनको अडान छ । उनका अनुसार आफूखसी गर्न खोजियो भने सबै भद्रगोल हुन्छ ।’त्रिवि सुधारमा लाग्नुको साटो तोडफोड दादागिरिमा विद्यार्थी संगठन लागेको देखिन्छ।’ उनले भने ।
तोडफोड र तालाबन्दीमा शंकरदेव, भक्तपुर क्याम्पसलगायतका १९ वटा क्याम्पसका नेविसंघका कार्यकर्ताहरु सलंग्न भएका छन् । नेविसंघका विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको लागि भनेर त्रिविले गत माघ ११ गतेदेखि स्नातक तहको पहिलो वर्षको भर्ना रोकेकाले अहिले भर्ना हुन दिनुपर्ने माग गरेका छन् ।







Facebook Comments