काठमाडौं । यो वर्षको मनुसन बिहीबार (जेठ १५) राति नेपाल प्रवेश गरेको छ । मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभागमा  विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“जसको फलस्वरूप कोसी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ,” महाशाखाले शुक्रबार (जेठ १६) दिउँसो जारी गरेको बुलेटिनमा उल्लेख छ ।

तथ्यांक राख्न थालेयताकै यसपालि सबैभन्दा छिटो मनसुन नेपाल प्रवेश गरेको हो । यसअघि, सन् १९९६ मा मे ३१ मा मनसुन नेपाल भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्न थालेयताकै सबैभन्दा चाँडो त्यो वर्ष मनसुन नेपाल भित्रिएको थियो । सन् १९६८ देखि विभागले नेपालमा मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक राखेको छ ।