
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातवटै प्रदेशका प्रदेश प्रमुखहरूसँग भोलि सामूहिक भेटघाट गर्ने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा हुने उक्त भेटमा प्रदेश प्रमुखहरूले आआफ्नो प्रदेशको समसामयिक अवस्था, हालसम्मको कार्यसम्पादन र अनुभवबारे राष्ट्रपतिलाई विस्तृत जानकारी गराउने कार्यक्रम रहेको छ।
नेपालको संघीय शासन प्रणाली कार्यान्वयनमा आएपछि सातै प्रदेशका प्रमुखहरूले एकैसाथ राष्ट्रपतिलाई भेट्न लागेको यो महत्त्वपूर्ण अवसर हो। यस भेटघाटले संघीय सरकार र प्रदेश तहबीचको समन्वय, सम्बन्ध र प्रदेशहरूमा देखिएका अवसर तथा चुनौतीहरूका बारेमा गहन छलफल हुने अपेक्षा गरिएको छ।
राष्ट्रपति पौडेलसँगको भेटमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती, कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाँ सहभागी हुनेछन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, प्रदेश प्रमुखहरूले आफ्नो कार्यकालमा सम्पादन गरेका मुख्य कामहरू, प्रदेश सरकारको गठन, सञ्चालनमा देखिएका सहजता तथा जटिलता, प्रदेश सभाबाट पारित भएका विधेयकहरूको प्रमाणीकरणको अवस्था, र समग्रमा प्रदेशको शान्ति सुरक्षा तथा विकास निर्माणको स्थितिबारे राष्ट्रपतिलाई अवगत गराउनेछन्।
संविधानतः प्रदेश प्रमुखहरू राष्ट्रपतिका प्रतिनिधिको रूपमा प्रदेशमा रहने संवैधानिक पद हो। उनीहरूले प्रदेशको अभिभावकीय भूमिका निर्वाह गर्दै संघीयताको सफल कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्दछन्। यो सामूहिक भेटले राष्ट्रपतिलाई सबै प्रदेशको राजनीतिक तथा प्रशासनिक अवस्थाको एकीकृत जानकारी लिन र संघीयतालाई थप सुदृढ बनाउन आवश्यक कदम चाल्न सहज हुने विश्वास गरिएको छ।
प्रदेश प्रमुखहरूले प्रदेशमा काम गर्दा भोगेका व्यावहारिक कठिनाइ, स्रोत(साधनको अवस्था र संघीय सरकारसँग गर्नुपर्ने समन्वयका विषयमा पनि आफ्ना अनुभव राख्ने बताइएको छ। यस किसिमको भेटघाटले संवैधानिक निकायहरूबीचको सम्बन्धलाई जीवन्त राख्न र आपसी समझदारी बढाउन मद्दत पुग्नेछ। भोलि हुने यो भेटघाटलाई संघीयता कार्यान्वयनको समीक्षा र आगामी दिशा तय गर्ने सन्दर्भमा निकै महत्त्वका साथ हेरिएको छ।







Facebook Comments