
ललितपुर । सेन्ट जेभियर्स स्कुलले सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई सहयोग गरी महोत्सव उद्घाटन गरेको छ । ७५ बर्ष अघि विद्यालय स्थापना भएकै दिन जुलाई १ तारिख पारेर मंगलबार हीरक महोत्सव उद्घाटन गरिएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिरुवामा पानी हालेर महोत्सव उद्घाटन गरे । हीरक महोत्सव उद्घाटन लगत्तै महानगर भित्रका दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक पोसाक हस्तान्तरण गरिएको थियो । वडा नम्बर ४, अफलडोल स्थित पञ्चकुमारी आधारभूत विद्यालय र धोविघाट स्थित सचेतना आधारभूत विद्यालयका विद्यार्थीलाई आवश्यक पोसाक उपलब्ध गराइएको हो ।
पञ्चकुमारीकी प्रधानाध्यापक पवित्रा पाण्डेलाई विद्यालयका प्रिन्सिपल फादर वोनिफस तिग्गा र संचेतनाकी प्रधानाध्यापक प्रणिता शर्मा काफ्लेलाई वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष खड्काले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
यी दुवै विद्यालयमा आर्थिक रूपले विपन्न र सीमान्तकृत परिवारका बालबालिका अध्ययन गर्दै आएका छन् । पोसाककै अभावमा विद्यालय जानबाट बालबालिका वञ्चित नहुन् भनेर उक्त सहयोग गरिएको कार्यक्रममा जानकारी गराइयो । पञ्चकुमारीमा ९६ र सचेतनामा ८३ विद्यार्थी अध्ययनरत रहेको सम्बन्धित विद्यालयको रेकर्डमा छ ।
सेन्ट जेभियर्स निजी शैक्षिक गुठिका रूपमा सञ्चालित विद्यालय हो । विद्यालयको हीरक महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महर्जनले शैक्षिक गुणस्तर विस्तारमा सेन्ट जेभियर्स स्कुलले पुर्याएको योगदानको प्रशंसा गरे ।
‘यो विद्यालयले केवल शैक्षिक गतिविधि मात्रै नभई बालबालिकाको संवेगात्मक र भावनात्मक एवं समाजको सांस्कृतिक संवेदनशीलतामा पनि योगदान दिएको ' उनले भने 'विद्यालयको लगनशीलता र प्रतिविद्धताले जीवन र सामाजिक मूल्य विस्तारमा समेत योगदान पुर्याएको छ ’
विद्यालयले बालबालिकाको सृजनशीतला विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनले मेयरका हिसाबमा दिगो विकासका लक्ष्य प्राप्तिमा काम गर्ने आफ्नो प्रतिविद्धतामा सेन्ट जेभियर्स जस्ता संस्थाले सहयोग पुर्याएको समेत उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जेसुईट सोसाइटीका क्षेत्रीय प्रमुख फादर अमृत राईले ७५ वर्षमा विद्यालयले भोगेको चुनौती र प्राप्त उपलब्धिका बारेका मर्मस्पर्शी वक्तव्य दिएका थिए । बिरुवामा पानी हालेर हीरक महोत्सव उद्घाटन गरिएको शैलीलाई विम्बात्मक रूपमा प्रयोग गर्दै उनले आफ्नो वक्तव्यमा सेन्ट जेभियर्सलाई पनि एउटा वृक्षका रूपमा व्याख्या गरे ।
'यो वृक्षले कहिले परिवर्तनका शरदहरू र कहिले काहीँ चुनौती पूर्ण शिशिर देख्यो, तर हरेक कठिनाइ हरेक परिवर्तनले यो वृक्षलाई विश्वासमा धैर्यमा र दृष्टिकोणमा गहिरो बनायो । आज हामी यस वृक्षका मिठा फलहरू आजको समाजमा नेतृत्व, सेवा र विवेकको प्रतीक बनेका पूर्व विद्यार्थीका जीवनमा देख्छौुं उनले भने ‘जिज्ञासु विद्यार्थीको आँखामा प्रेरणादायी शिक्षकहरूको समर्पणमा समुदायमा बगेको सेवा र करुणामा हामी यस वृक्षका मिठा फलहरू देख्छौँ ’
७५ वर्षको यो समय पुनः नयाँ बिरुवा रोप्ने बेला भएको बताउँदै उनले हिजो रोपिएका बिरुवाहरूलाई आज स्याहार गर्ने, सृजनशील सोच, वातावरणीय चेतना, सामाजिक न्याय सहितको समालोचनात्मक शिक्षा र आध्यात्मिक गहिराइका नयाँ बिरुवा रोप्ने जिम्मेवारी थपिएको उल्लेख गरे ।
शिक्षामा नविनता द्वारा प्रविधिलाई ध्यान भंग गर्ने माध्यम नभई गहिरो सिकाइका उपकरणको रूपमा एकीकृत गर्दै लैजाने सोच रहेको उनले बताए ।
सेन्ट जेभियर्स केवल शैक्षिक उत्कृष्टताको केन्द्र मात्रै नभई नैतिक रुपान्तरण र सामाजिक उत्तरदायित्वको केन्द्र बन्ने पनि उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल फादर वोनिफस तिग्गाले विद्यालयले शैक्षिक मात्रै नभई मानवीय मूल्य मान्यता सहितको शिक्षामा जोड दिएको उल्लेख गरे । हीरक महोत्सव उद्घाटनमा सहभागी व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले विद्यार्थीको सृजनशीलताका लागि विद्यालय संधै तत्पर रहेको पनि बताए ।
कार्यक्रममा तीन सय धेरै विद्यार्थीले संयुक्त प्रस्तुती दिएका थिए ।
विद्यार्थी बिच प्रतिस्पर्धा गराएर तयार पारिएको हीरक महोत्सवको लोगो पनि अनावरण गरियो । विद्यार्थीबाट प्राप्त लोगो मध्ये अन्तिम प्रतिस्पर्धामा पुगेका सेन्ट जेभियर्स जावलाखेल र गोदावरीका ५ र ५ जना विद्यार्थीको लोगो मध्येबाट जावलाखेलमा कक्षा १२ मा अध्ययनरत अंशिका सिंहले तयार पारेको लोगो प्रथम भएको थियो । उनको सृजनशीलताको कदर गर्दै शिक्षक अभिभावक संघका अध्यक्ष डा। ऋषि विष्टले सौजन्य गरेको पुरस्कार मेयर महर्जनले प्रदान गरेका थिए ।
बाँकी ९ जना विद्यार्थीलाई पनि पुरस्कृत गर्ने विष्टले घोषणा गरेका छन् ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा नेपालमा सेन्ट जेभियर्स स्कुल खोल्ने प्रक्रिया सुरु भएको थियो । चन्द्र शमशेरले स्थापना गरेको त्रिचन्द्र कलेजको परीक्षा सञ्चालनको काम गर्ने भारतको पटना विश्वविद्यालयबाट कलेज अनुगमनका लागि नेपाल आएका फादर मार्शल डि मोरानले नेपालमा विद्यालय खोल्ने विषयमा राखेको प्रस्तावमा शिक्षा हेर्ने डाईरेक्टर चन्द्र शमशेरका भतिजा मृगेन्द्र शमशेर सकारात्मक भए पछि सेन्ट जेभियर्स स्थापनाको प्रक्रिया सुरु भएको थियो । सन् १९५० नोभेम्बर १ मा ललितपुरको गोदावरीमा विद्यालय खोल्न मृगेन्द्र शमशेरले स्वीकृति दिने निर्णय गरेका थिए ।
तर, विद्यालय खोल्ने प्रक्रिया पुरा नहुँदै वि.सं. २००७ सालमा नेपालमा राणा शासन अन्त्य भए पछि मोहन शमशेर प्रधानमन्त्री भए । उक्त मन्त्रीमण्डलमा शिक्षा मन्त्री रहेका नृपजंग राणालाई मोरानले पटनाबाटै टेलिग्राम मार्फत विद्यालय स्थापनाको रोकिएको प्रक्रिया जानकारी गराएका थिए । उक्त जानकारीको सम्बोधन गर्दै शिक्षा मन्त्री राणाले विद्यालय खोल्ने स्वीकृति प्रदान गरे । गोदावरीमा रहेको राणाहरूले घोडा बाँध्न प्रयोग गरेको तबेला र हात्तीसारलाई सरसफाइ गरी कक्षा कोठाका रूपमा प्रयोग गर्ने स्वीकृति प्राप्त भयो ।
पाठ्य सामग्री पटनाबाट ल्याउने तय भयो । विद्यार्थी भर्नाका लागि आवेदन माग्दा सुरुमा तीन सय जनाको आवेदन परेको थियो । त्यसबाट ६० जना छनौट गरी सन् १९५१ जुलाई १ देखि विधिवत् रूपमा नेपालमा विद्यालय स्थापना भएको हो । सोही वर्षको नोभेम्बर ८ मा तत्कालीन शिक्षामन्त्री राणा, सेन्ट जेभियर्स पटनाका सुपेरियर फादर रिचर्ड ए। वोल्फ, सेन्ट जेभियर्स गोदावरीका सुपेरियर फादर फ्रयांक मर्फि, विद्यालयका प्रधानाध्यापक मार्शल डि मोरान र तत्कालीन शिक्षा विभागका प्रमुख शारदा प्रसाद उपाध्यायले समझदारी पत्रमा हस्ताक्षर गरेर विधिवत् रूपमा विद्यालय स्थापना भएको हो । अहिले सेन्ट जेभियर्स स्कुल ललितपुरको गोदावरी र जावलाखेल सहित देशका विभिन्न ९ स्थानमा विद्यालय र कलेज सञ्चालनमा छन् । दुईवटा सामाजिक केन्द्र मार्फत सोसाइटीले सामाजिक सेवाका काम समेत गर्दै आएको छ ।
संसारका विभिन्न देशमा सञ्चालित सेन्ट जेभियर्स स्कुल सन्त फ्रान्सिस जेभियरको नाममा स्थापना गरिएको हो । सन् १५०६ मा स्पेनको नाभारामा जन्मेका जेभियर्सले पेरिस विश्वविद्यालयमा अध्ययन गर्दा इग्नेसियस अफ लोयला लगायतका धर्मगुरुहरुसँगको भेट पछि प्रभावित भएर सन् १५३४ मा जेसुईत सोसाईटी स्थापना गरेका थिए । शिक्षा र समाज सेवामा काम गर्ने उद्देश्य साथ स्थापना गरिएको यही संस्था मार्फत संसारका विभिन्न देशमा सेन्ट जेभियर्स स्कुल सञ्चालन हुँदै आएको छ ।







Facebook Comments