काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता महेश भट्टराईले दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्काल ताला खोल्न अन्तरिम आदेश दिएको हो ।

त्रिवि उपकुलपति कार्यालय, रेक्टर तथा रजिष्ट्रार कार्यालय, त्रिवि सेवा आयोगमा गत जेठ १४ तथा जेठ ३० गतेदेखि ताला लगाइएको छ । उक्त ताला खोल्नुपर्ने मागसहित दायर गरिएको रिटमा तत्काल खोल्न आदेश दिएको हो ।

गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी भएको त्रिविका कानुनी सल्लाहकार नारायण प्रसाद खनालले जानकारी दिए ।

त्रिवि आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिले गत जेठ ३० गतेदेखि तालाबन्दी गरेको थियो । त्यसअघि काठमाडौँ उपत्यकासहित विभिन्न कलेजका स्ववियु पदाधिकारीहरूले जेठ १४ गते तोडफोड तथा तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण त्रिविको कामकाज ठप्प बनेको छ । त्रिविले तालाबन्दी खोल्ने विषयमा वार्ता गर्न प्राडा दिलीप पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता समितिले आन्दोलनरत प्रोफेसरहरूसँग तीन पटक वार्ता गरेको छ । यद्यपि वार्ताबाट कुनै निष्कर्ष निस्किन सकेको छैन ।