काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको विनयी खोलामा निर्माण गरिएको नयाँ पुल भएर आजदेखि गाडी चल्न थालेका छन्।

बुटवल–नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयी खोलाको पुरानो फलामे पुल गत पुस २६ गते एक भारतीय ट्रकले भत्काएपछि यहाँ अस्थायी डाइभर्सनमार्फत जोखिमपूर्ण ढंगले सवारी सञ्चालन हुँदै आएका थिए।

विनयी खोलमा आउँने बाढीले डाइभर्सन बगाउँदा लामो सयमसम्म यहाँ सवारी रोकिँने गरेका थिए। विनयी खोलामा निर्माण गरिएको नयाँ पुल भएर आजदेखि गाडी चल्न थालेसँगै अब डाइभर्सनबाट गाडी चलाउनु पर्ने वाध्यता हटेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

पुलमा कालोपत्रे लगायतका सबै काम सम्पन्न भएसँगै बुधबार बिहान ११ बजेदेखि यहाँबाट गाडी चल्न थालेका हुन्। निर्माण कम्पनीले २४५ मिटर लामो र ७।५ मिटर चौडाइको पुल ६ महिनामै निर्माण सकेको हो। पुलमा पैदलयात्रुका लागि फुटपाथसमेत निर्माण गरिएको छ।