.jpg)
काठमाडौं। काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतले काठमाडौं टावरका बारेमा मुख खोलेका छन् । पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्यमबाट आरोपित गर्न खोजिएको उनको टिप्पणी छ ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गुरागाईंले काठमाडौं टावरको नक्शा पासको विषयलाई जोडेर आफूलाई लगाइदै आएको आरोपमा कुनै पनि सत्यता नभएको बताए । आफ्नो चरित्र हत्या गर्ने प्रयासप्रति उनले आक्रोश व्यक्त गरे ।
‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो । मैले नक्शा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’ उनले भने, ‘सम्वन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानुन र प्रक्रियामा दोषि प्रमाणित गर्यो भने म कारबाही भोग्न तयार छु, तर अहिले जुन ढंगबाट लाल्छना लगाउने काम भएको छ त्यो गलत छ ।’
काठमाडौं टावरको नक्शा स्वीकृतको कागजपत्र हेर्दा तत्कालीन प्रशासन विभागले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई सम्वोधन गरेर फाइल उठाएको देखिन्छ । त्यसमा अधिकारीले हस्ताक्षर गरेर ‘नगर प्रमुखज्यु पेश भए बमोजिम जरिवाना तोक्न निर्णय प्रस्तुत गरेको छु’भन्दै २०८० मंसिर २७ गते मेयर साहलाई पठाएका थिए । उक्त फायल मेयर साहकोमा पुगेपछि साहले पुस २ गते पाँच लाख जरीवाना तिराउन आदेश गरे । नगरप्रमुखको आदेशबमोजिम त्यही फाइल गुरागाईंले स्वीकृत गरेका थिए ।
स्वीकृत गरेको फाइलमा ‘मिति २०८०/९/०२ गतेको श्रीमान नगर प्रमुखज्युले ५,००००० (पाँच लाख) जरिबाना गर्ने निर्णय र मिति २०८०/९/०५ गतेको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त अधिकारीज्युको कानुन अनुसार नक्शा स्वीकृतका लागि पेश गर्ने भन्ने आदेश अनुसार नक्शा स्वीकृत’ भनेर उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै आफ्ना कारणले बजेट रोकिनु नहुनेमा जोड दिएका छन् । ‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर सा’ब तथा उपमेयरज्यु र जनप्रतिनिधिका निर्णयहरुमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु,’ उनले भने, ‘तर, अहिले जुन ढंगले बजेटसँग टावरको विषयलाई जोडिएको छ, त्यो जोड्नुपर्ने कारण नै होइन भन्ने लाग्छ । कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ।’
उनले आफू नरहेका बेला पनि लामो समयदेखि बैठक नबसेको स्मरण गरे ।
‘व्यक्ति तोकेर तँ भ्रष्टाचारी होस भन्न मिल्ला ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,’ गुरागाईंले थपे, ‘त्यसरी व्यक्तिको चरित्रहत्या गर्ने कुरा गलत छ । यदि तपाईँलाई कसैले विनाप्रमाण चरित्र हत्या गर्छ भन्ने त्यसलाई ठिक भन्न सक्नुहुन्छ ? मैले अहिलेसम्म मेयर सावका बारेमा केही पनि भनेको छैन नि ? अनि मेयरको सचिवालयको हवला दिदैँ मलाई आरोप लगाउने कुरा कसरी ठीक हुन्छ ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि ? आधिकारिक निकाय हुन्छ होला । उस्ले मेरो बारेमा छानविन गरिरहेको होला नि ?’







Facebook Comments