काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने क्षेत्रमा एकतर्फी रुपमा सावारी चल्न सुरु भएका छन् । राजमार्गको हिलो सुक्दा दाउन्नेको विश्वकर्मा मन्दिरनजिक फसेको गाडी निकालेपछि यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा अनुसार दाउन्नेमा जाम हुन नदिन प्रहरीले ४० किलोमिटर वरै रजहरमा बिहानैदेखि नारायणगढबाट बुटवलतर्फ हिडेका ट्रक रोकेको छ । दाउन्नेमा गाडीको लामो जाम हुन नदिन रजहरमै मालवाहक र रित्ता लामा सबै गाडी रोक्न परेको हो ।

दाउन्नेको जाम घटेपछि रोकिएका गाडी पठाइने जिल्ला ट्राफिक प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । वर्षा हुनासाथ गाडी फसेर राजमार्ग अवरुद्ध हुने र सुकेपछि मात्र यातायात सञ्चालन हुने अवस्था रहेको उनको भनाई छ ।

दाउन्नेको विश्वकर्मा मन्दिर नजिक सामान्य वर्षा हुनासाथ मालबहाक गाडी फस्ने गरेका कारण हरेक दिन लामो जाम हुने गरेको छ । राजमार्ग स्तरोन्नतिको काम गरिरहेको ठेकेदार कम्पनी बेखबर देखिएको छ ।