काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा बदमासी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ। आज दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा सभामुख देवराज घिमिरेको उपस्थितिमा बस्न लागेको हो।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको सार्वजनिक भएपश्चात अध्ययन तथा छानबिन गर्न ‘संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समिति’ गठन गरेको हो।

कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा सात सदस्यीय संसदीय विशेष समिति गठन भएको छ। समितिमा कांग्रेसबाट सांसदहरू परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन्।  

निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिइएको सभामुख घिमिरेले बैठकलाई जानकारी दिए। समितिको प्रतिवेदनमा छेडखानी गर्ने काममा कसैको संलग्नता देखिए प्रचलित कानुन बमोजिम कारवाही गर्नुपर्ने वा नपर्ने भन्ने सुझाव दिने कार्यादेश विशेष समितिलाई दिइएको उनले बताए।

रास्वपाले भने कुलिङ अफ पिरियड प्रकरणको छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्ने भन्दै विरोध गरेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसकै सांसद रहेको सभापतिमाथि छानबिन गर्न बनेको समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्न सक्ने तर्फ सभामुखको समेत ध्यानाकर्षण गराएका थिए। उनले कुलिङ अफ पिरियड प्रकरणको छानबिनका लागि राज्य व्यवस्था समितिका सभापतिले राजीनामा दिनुपर्ने सुझाव समेत कार्यव्यवस्था परामर्श समितिमा दिएको जानकारी दिए। परियारले छानबिन समितिको नेतृत्वको विषयमा असहमति हुँदाहुँदै पनि संसदमा भएका गलत कामलाई रोक्नका लागि पार्टीबाट छानबिन समितिमा सदस्य पठाएको बताए।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको थियो ।तर,प्रतिनिधिसभा बैठकबाट विधेयक पारित हुँदा कुलिङ पिरियडमाथि छेडखानी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।