
काठमाडाैँ । प्रहरीले एक अर्ब ५० करोडको क्रिप्टोकरेन्सी (अभौतिक) मुद्राको कारोबार गरेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले ललितपुर महानगरपालिका–२ सानेपा कालोपुल स्थितबाट भारतीय नागरिक रुपेश कुमार गुप्ता र विपिन कुमार गुप्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले रुपेश कुमार गुप्ताले सञ्चालन गरेको राज ट्रेडर्समा छापा समेत मारेको छ । राज ट्रेडर्स किराना पसलको आवरणमा गैरकानुनी हुण्डि तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए ।
उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डि सम्बन्धी कारोबार गर्न नहुने कसूर र वन्यजन्तु सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







Facebook Comments