काठमाडाैँ । कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटानीको काम सकिएको छ । दोधारा चाँदनी नगरपालिका–१ मा रहेको गौरीशंकर सामुदायिक वनमा रुख कटान गरिएका हुन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गौरीशंकर सामुदायिक वनमा रुख कटानको काम सकिएसंगै निर्माण प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । सुरुमा सामुदायिक वनको ४१ हेक्टर क्षेत्रफलमा रहेका एक हजार ७ सय २ रुख काटनुपर्ने भए पनि छपान गरिएका एक सय ९ रुख चोरी भएपछि काट्नुपर्ने रुखको सङ्ख्या कम भएको हो ।

काठसमेत चोरी हुन सक्ने भएकाले कटान गरिएको काठ निकुञ्जको पिपरैया पोस्टमा घाटगद्दी गरिएको छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले रुख कटानको काम सकिएपछि फिल्ड खाली भएको बताए ।

उनले अहिले पनि सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ । गजुरेलका अनुसार रुख कटानको काम सकिए पनि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचारबाट जानकारी गराइसकेको छ । अब परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पत्राचार हुनेछ । त्यसपछि संयुक्त रूपमा शिलान्यासदेखि निर्माण प्रक्रिया अघि बढ्ने उनले बताए । भारतले सुक्खा बन्दरगाह निर्माणका लागि तीन अर्ब ८० करोड नेपाली रुपैयाँमा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भइसकेको छ ।