काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसले गर्दा देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बा“की प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान छ ।

साथै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौ, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालिकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने पूर्वानुमान छ ।

सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरिएको छ ।