
काठमाडौँ । नेपाली कांग्रेसको डा शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले अनुशासन समितिले बुधबार २३ नेतालाई कारबाही गर्न गरेको निर्णय नमान्ने भएको छ ।
बिहान डा. कोइरालाको विशालनगर स्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहका नेताहरूको बैठकले अनुशासन समितिले पार्टी नियमावली विपरीत कारबाही गरेको भन्दै नमान्ने निर्णय गरेको हो । बैठकले समितिको त्यो कार्यान्वयन नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी बैठकले कारबाही विधानविपरीत र एकातर्फ भएको निष्कर्ष निकालेको केन्द्रीय सदस्य गौतमले जानकारी दिए । ‘कारबाही बिधान विपरीत र एकातर्फी भएको हाम्रो निष्कर्ष छ,’ गौतमले भने, ‘सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने हाम्रो निर्णय छ ।’
बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निष्कर्ष पनि निकालेको नेताहरूले बताएका छन् । समितिको निर्णयको राजनीतिक रुपमा सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने पनि गौतमले बताए ।
बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूका बिच अहिले अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको बताएका थिए ।







Facebook Comments