
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको बिहीबार ५ दिन पुगेपनि मन्त्री अरूणकुमार चौधरीले पदबाट राजीनामा दिएका छैनन् ।
नाउपा प्रतिनिधि सभा सांसद चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । उनका स्वकीय अधिकृत अमनकुमार चौधरीले बिहीबार दिउँसोसम्म राज्यमन्त्री चौधरीले राजीनामा दिएको विषय जानकारीमा नरहेको बताए ।
नाउपाले असार २१ गते ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसबारे जानकारी दिँदै संसदीय दल नेता गंगाराम चौधरीले ‘सरकारले चित्तबुझ्दो काम नगरेकोले समर्थन फिर्ता लिने सर्वसम्मत निर्णय भएको’ बताएका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीबाट पनि फिर्ता आउने निर्णयमा राज्यमन्त्री चौधरीले पनि हस्ताक्षर गरेका छन् ।
उक्त निर्णय गरेको भोलिपल्ट असार २२ गते सभामुख देवराज घिमिरेलाई भेटेर नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहितको टोलीले सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिएको र आफूहरू प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएकी थिइन् । त्यसपछि नाउपाका सांसदहरू प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी बेञ्चमा बस्न थाले ।
यसबीचमा असार २३ गते बालुवाटार पुगेर नाउपा संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसग भेटवार्ता गरेका थिए भने त्यसको भोलिपल्ट असार २४ गते बूढानीलकण्ठ पुगेर चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासग कुराकानी गरेका थिए ।
संरक्षक रेशमले प्रधानमन्त्री र कांग्रेस सभापतिसग गरेका कुरा बाहिर आइसकेका छैनन् । यद्यपि नाउपाका सांसद प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बसिसकेका छन् भने राज्यमन्त्री चौधरीले राजीनामा पनि दिएका छैनन्, अहिलेको अवस्थामा नाउपा सत्ता–प्रतिपक्षी दुवैतिर छ । नाउपाका प्रतिनिधि सभा सांसद ४ जना छन् । राज्यमन्त्री चौधरी संसद गएका खण्डमा मन्त्रीहरू बस्ने ठाउ (सत्तापक्ष) लहरमा बस्नुपर्ने हुन्छ, पार्टी प्रतिपक्षमा बसेकोले उनलाई धर्मसंकट छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिई प्रतिपक्षमा बसिसकेको बताइन् ।







Facebook Comments