काठमाडौँ । खानेपानीको समस्या समाधानको माग गर्दै सुकुम्बासीहरुले काठमाडौं उपत्यका खानेपानी कार्यालय घेराउ गरेका छन् । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले रित्तो गाग्रीसहित कार्यालयबाहिर धर्ना दिएको हो ।

खानेपानी नदिएर सरकारले अमानवीय काम गरेको बताउदै उनीहरुको चर्को नाराबाजी पनि गरेका छन् । उनीहरुले ‘सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर’,‘अव्यवस्थित बसोबासीलाई खानेपानीको व्यवस्था गर’ लगायतका नारा लगाएका छन् ।

खानेपानीको माग गर्दै सुकुम्बासीहरु गत जेठ २६ गते रित्तो गाग्री लिएर सडकमा उत्रिएका थिए । उनीहरुले समस्या समाधानका लागि सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । तर, सरकारले सुनुवाइ नगरेर सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकाहरुको संवैधानिक हक छिनेको उनीहरुको गुनासो छ ।