
काठमाडौँ । रसुवागढीमा आएको बाढीको कारण हिमताल विस्फोट रहेको निष्कर्ष मौसमविद्हरूले निकालेका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको निष्कर्ष निकालेका हुन्।
‘विभाग हिमताल विस्फोटबाटै यस बाढी सृजना भएको प्रारम्भिक निष्कर्षमा पुगेको छ’‚ प्राप्त तस्वीरहरूको विश्लेषण गर्दा बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको छ। विशेषगरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको हुनाले उक्त हिमतालबाट पानी निकास भएको देखिन्छ’ विभागले भोटेकोशी बाढीको अपडेट गराउँदै भनेको छ
रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटर माथिको हिमताल लेहेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ। उक्त हिमनदीको करिब बीच भूभागमा विकास भएको हिमताल (सुप्रा ग्लासियर लेक्स) करिब ०.७५ किलोमिटरमात्र देखिएको छ। बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको अवस्थाबारे तुलनात्मक अध्ययन गर्दा तालको क्षेत्रफलमा परिवर्तन भएको देखिएको विभागले जनाएको छ।
‘हिमतालको सतही स्वरूपमा उल्लेख्य परिवर्तन देख्न सकिन्छ’, विभागले भनेको छ‚ ‘यसैगरी तालबाट तलको क्षेत्रमा समेत उल्लेख्य परिवर्तन देखिएको छ। प्राप्त विवरणहरूले त्यस समयमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिन्छ।’
हिमताल विस्फोटबाट बाढी आएको प्रारम्भिक निष्कर्षमा पुगेको विभागले यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरेको छ। आगामी दिनमा भू उपग्रहमार्फत प्राप्त हुनसक्ने तस्वीरहरूले पनि थप पुष्टि हुने जनाइएको छ। मंगलबार बिहानै चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेन्दे खोला (भोटेकोशी) मा अचानक आएकोको बाढीले ठूलो जनधनको क्षति भएको छ।







Facebook Comments