राजधानीको एक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुडिएर दुई मजदुरको ज्यान गएको घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
असार १७ गते साझ पोतला डेभलपमेन्ट प्रालिको निर्माणाधीन नौ तले पक्की घरको लिफ्ट बनाउन खटिएका मजदुर लिफ्ट नै भुईँमा खस्दा कैलालीका ३२ वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा पाचौ तलासम्म पुगेपछि अचानक फलामको सिक्री चुँडिएको थियो । ‘हामीले प्रारम्भिक अध्ययन सकेका छौ,’ जिल्ला प्रहरी परिसर काठमाडौका सूचना अधिकारी एसपी अपिलराज बोहराले भने, ‘परिवारको उजुरीका आधारमा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । भवितव्य दुर्घटना हो कि के हो ? त्यो कुरा अनुसन्धानपछि मात्र थाहा हुन्छ ।’
घटनापछि ठेकेदार र मृतक परिवारले आन्तरिक रूपमा सहमति गरेर शव बुझेका थिए । एक प्रहरी अधिकृतका अनुसार बिमाबापतको रकम र मृतक परिवारले मागेका बमोजिमको रकम दिने सहमति भएपछि परिवारले शव बुझेका थिए ।
लिफ्टबाट खसेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लगिएको वीर अस्पतालले सोही दिन सा“झ ५ः१० बजे मृत घोषणा गरेको थियो ।