काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ ।  २ दिउँसो बजे बस्नेगरी कार्यपालिका बैठक तय गरिएको हो ।

प्रत्येक महिना हुनुपर्ने भएपनि महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार नै १९४  दिन पुगेको छ । पछिल्लो पटक पुस १४ गते महानगरको १६औँ नगर सभा बसेको थियो ।

लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।  

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुनेछ । कानुनी बाध्यताले गाँजेपछि मेयर बालेन बाध्य भएर कार्यपालिका बैठक बोलाउनु पर्ने अवस्थामा पुगेको महानगरका एक जनप्रतिनिधिले टिप्पणी गरे ।  

यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादकै कारण बालेनले कार्यपालिका बोलाएका थिएनन् । अहिले पनि सरोज नै प्रमुख प्रशासकीय अधिृकत हुन् । सुरुमा उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका बालेन अहिले भने उनी भएकै अवस्थामा बैठक बोलाउने अवस्थामा पुगेका हुन् ।

महानगर स्रोतका अनुसार  शुक्रबार नै ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ ।