काठमाडौं । देशका केही सानाठूला नदीमा आज  पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन बारा, रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व र रुकुम पश्चिममा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

संखुवासभा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान, जाजरकोट र कालीकोट भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने महाशाखाको अनुमान छ ।

शुक्रबार बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।