
नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट(बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल सम्पन्न भएका छन्।
पूर्वीखण्डको गैँडाकोट–दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल बनिसकेका हुन्। नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रूपमा निर्माण गरिएका छन्। यो खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा पाँचवटा निर्माण सम्पन्न भएका छन्।
निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताए। आगामी असारसम्म थप तीन ठूला पुल निर्माण सम्पन्न हुने उहाँले जानकारी दिए। अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही समय अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालले जानकारी दिए। यो खण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको उनले जानकारी दिए
नारायणघाटबाट बुटवलसम्मको एक सय १४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ।







Facebook Comments