
कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेको छ।
रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको हो । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक थपिएको जानकारी दिए।
उनका अनुसार मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको हो। 'विशेषज्ञ सेवा थपिएपछि यहाँका सेवाग्राहीलाई उपचारमा सजिलो हुन्छ', भट्टले भने, 'एउटै विभागमा दुई/तीन जना विशेषज्ञ हुँदा एक जना बिदामा बस्दा पनि समस्या हुँदैन।' यसअघि एउटा विभागमा एक जनामात्रै विशेषज्ञ चिकित्सक हुँदा बिदामा जाँदा उक्त सेवा बन्द हुने गरेको थियो।
“अस्पतालमा पहिलो पटक यतिधेरै विशेषज्ञ चिकित्सक आएका हुन्”, उनले भने, “विशेषज्ञ सेवा थपिएपछि अहिले दैनिक ४०० देखि ५०० सेवाग्राहीले दैनिक सेवा लिने गरेका छन्।” अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सककोे दरबन्दी रहेको भए पनि अहिले एक जनामात्रै दरबन्दीमा कार्यरत छन्। अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिँदै आएका छन्।
विगतको तुलनामा अस्पतालले विशेषज्ञसहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए। 'अहिले एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन्, यसले सेवाग्राहीलाई सजिलो भएको छ', उनले भने, 'अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएको सरकारले त्यहीअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य उपकरणमा ध्यान दिनुपर्छ।'




_eDRH6Bm5KD.jpg)


Facebook Comments