काठमाण्डाैँ । बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट तत्कालका लागि हटेको छ । फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसनले तत्कालका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

खतराको सूचीमा पर्नबाट जोगिन संरक्षणमैत्री र सुधारका काम भइरहेकाले युनेस्कोले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा पेरिसमा सम्पन्न बैठकले लुम्बिनीलाई एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

‘कन्सेप्च्युअल फिजिकल डेभलपमेन्ट, लुम्बिनी हेरिटेज कन्फेरेन्स आयोजना र सेक्टर स्ट्राटेजी जस्ता काम गरेपछि युनेस्को सकारात्मक भएर यो निर्णय भएको हो,’ राईले भने, ‘अब युनेस्कोले लुम्बिनीको समग्र अवस्था बुझ्नका लागि रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाउने निर्णय पनि गरेको छ, मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधारमा पुन: खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने छ ।’

यसअघि पनि वर्ल्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो ।

दिल्लीमा गत साउनमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६औं सेसनमा लुम्बिनीलाई खतराको सूचीमा किन नराख्ने भन्ने विषयमा छलफल हुँदा भारतको संशोधन प्रस्तावका कारण खतराको सूचीमा पर्नबाट जोगिएको थियो ।

त्यहाँ दिइएका सुझाव र निर्देशन अनुसार सम्भावित खतराको सूचीबाट जोगाउन विज्ञ विशेषज्ञ बोलाएर लुम्बिनीमा वर्ल्ड हेरिटेज इन्टरनेसनल कन्फरेन्स समेत गरिएको थियो ।

नीतिगत सुधार, सम्पदास्थलको संरक्षण, कानुनी स्पष्टता र एसओपी रिपोर्ट पेश गरेपछि एक वर्षका लागि खतराको सूचीमा नपर्ने सुखद निर्णय आएको भएपनि सुधार र संरक्षणका कामलाई निरन्तरता दिइने कोषका उपााध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।

पेरिसमा जुलाई ६ देखि १६ सम्म युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसन चलिरहेको छ । आउँदो बुधबार उक्त सेसन समापन हुनेछ ।

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने

पेरिसमा रहेका कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा पुगेको समेत जानकारी दिए ।

यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा लगायतको टोली पेरिस पुगेका छन् ।

‘आज सांझसम्म वा भोलि तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुने गरी चरणवद्ध छलफल भएका छन्,’राईले भने ।

यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

नेपाल सरकारले भने आव २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय उल्लेख गरेको थियो ।

विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलवस्तु सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो ।

अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेश भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको हो ।

उपाध्यक्ष लामाले पेरिसमा एक हप्तासम्म फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागि भारतीय राजदुत विशाल शर्मा, युनेस्कोको वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो तथा निर्देशक ग्वेनाले बोर्डिन सहित विभिन्न देशका कुटनीतिक  नियोगका प्रमुख तथा विभिन्न संस्थाका प्रमुखहरुसन्ग भेटवार्ता तथा छलफल गरेका लामाका स्वकीय सचिव श्याम रोकाले जानकारी दिए ।

विस २०१४ सालदेखि तिलौराकोटको उत्खनन् तथा अन्वेषण भइरहेको छ । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीन सय वर्षअघि नै व्यवस्थित सहर रहेको तथ्य भेटिएको उत्खनन् मा सहभागी पुरातत्वविद्हरु बताउँछन् ।

बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ । तर, त्यसअघि नै तिलौराकोटमा मानव सभ्यता र सहर रहेको पुष्टि भएको पुरातत्वविद्को भनाइ छ ।

विश्वको सबैभन्दा ठूलो खुला संग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विकास कोषले केही वर्षदेखि प्राथमिकतामा राखेर काम गर्दै आएको थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको थियो ।

तिलौरोकोटको मुख्य क्षेत्र (कोरजोन) करिब १४० बिघा क्षेत्रफल छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेपश्चात कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने योजना पुरातत्व विभागले बनाएको छ ।

विश्वमा अहिलेसम्म एक हजार १२१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । नेपालले सन् १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो ।

त्यसयता काठमाडौँ उपत्यका र लुम्बिनी गरेर जम्मा दुई स्थानमात्रै विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनोस्कोमा पहलको शुरुआत गरिएको तर २४ वर्षपछि ठोसरूपमा कदम चालिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले बताए ।

विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि तिलौराकोट दरबार क्षेत्र सरकारको प्राथमिकतामा परे गुरुयोजना अनुसार विकास हुनेछ ।

साथै यहांको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्व अन्तर्राष्ट्रियस्तरमा प्रमाणित हुने, अन्तर्राष्ट्रिय पर्यटकहरू भ्रमणमा आउने र स्थानीयले आर्थिक लाभ लिन सक्ने कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए ।

‘विश्व सम्पदामा सूचीकृत नहुँदा सरकार र लुम्बिनी विकास कोषले लुम्बिनीलाई मात्र प्राथमिकतामा राखेर वजेट दिने र त्यहांको मात्रै विकास भएको थियो,अब तिलौराकोट पनि सरकारको प्राथमिकतामा पर्ने छ,’ पौडेलले भने ।