काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षाको अनुमान गरिएको छ । यस दिन दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । विशेष गरी पहाडी भूभागमा वर्षाको सम्भावना बढी रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

“सबै प्रदेशका केही स्थानहरूमाचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।


कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

यस दिन राति पनि देशभर साधारणतया बदली रहने अनुमान छ । “कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाको बुलेटिनमा उल्लेख छ ।

राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कास्की, लमजुङ, गोरखा, सिन्धुपाल्चोकलगायत स्थानमा गए राति वर्षा भएको छ । कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । यस दिन बिहान पनि केही स्थानमा पानी परिरहेको छ ।