
काठमाडौं । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनको विरुद्धमा पदाधिकारीसहितका नेताहरुले मोर्चा कसेका छन् । राजसंस्था पुनर्स्थापना अभियानको आन्दोलनलाई कमजोर पार्ने भूमिका निर्वाह गरेको आरोप लागिरहेकै बेला दुई जना पदाधिकारीलाई लिङ्देनले जिम्मेबारीबाट हटाएपछि उनीहरुविरुद्धको अभियान झनै जुर्मुराएको छ ।
असार २५ गते बुधबार राप्रपा अध्यक्ष लिङदेनले केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरे भने प्रवक्ता सगुन सुन्दर लावतीको जिम्मेबारी खोसिदिए ।
उक्त पत्र सार्वजनिक भएपछि राप्रपामा पहिलेदेखिको कलह झनै चर्किएको थियो । शनिबार महामन्त्री धवलशमशेर जबराको निवासमा बसेको बैठकले आज निर्वाचन आयोग पुगेर विधि र विधानका बारेमा जानकारी गराउने निष्कर्ष निकालेको छ ।
अनुशासन समितिको अध्यक्षमा रहेका नवराज सुवेदीलाई हटाएर लिङ्देनले कार्कीलाई नियुक्ति दिएका थिए ।
सुवेदीले राजसंस्था पुनर्स्थापना अभियानका क्रममा धेरै कार्यकर्ता र शुभेच्छुकले पार्टी र संसद् छाडेर राप्रपा सडकमा आउनुपर्ने सुझाव दिएका कारण आफू राप्रपाको सदस्यता त्याग गरेर सडकमा आउन तयार रहेको अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई आधार बनाउँदै हटाएको लिङ्देन समूहको दाबी छ । राप्रपाका एक प्रवक्ता मोहन श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत् सुवेदीले चैत ४ गते नै राप्रपा परित्याग गरेको घोषणा गरेको हुनाले निर्वाचन आयोग पुगेर राप्रपामै छु भनिरहन जरुरी नभएको बताएका छन् ।
शनिबारको भेलामा सहभागी सहायक महामन्त्री ऋषिराज देवकोटाले पनि पार्टीमा केही विधि विधान मिच्ने काम भएको हुनाले त्यसबारेमा जानकारी गराउन निर्वाचन आयोग जाने विषयमा छलफल भएको बताए ।







Facebook Comments