
काठमाडौँ । महिनावारी भएका बेला छाउगोठमा रहेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको मृत्यु भएको हो । ‘राति खाना खाएर छाउगोठमै सुतेका बेला सर्पले डसेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले भने । उनका अनुसार शुक्रबार राति छाउगोठमा सुतेका बेला सर्पले डसेको थियो । स्थानीयले राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएका थिए ।
‘खाना खाएर सुत्नेबित्तिकै सर्पले डसेको रहेछ,’ कृष्णपुर नगरपालिका-१ का वडाध्यक्ष मोहन बस्नेतले भने, ‘ससाना छोरा मात्रै घरमा रहेछन्, उनीहरु पक्की घरमै सुते, कमला भने खाना खाएर नजिकै रहेको छाउगोठमा गइछन् ।’ मृतक दमाईका श्रीमान् भारतको सुरतमा काम गर्छन् । सासू-ससुरा पनि हालै रोपाइँ सकेर भारतमै गएका छन् ।
गत वर्ष वडा कार्यालयले उक्त क्षेत्रमा छाउगोठ भत्काउने अभियान पनि चलाएको थियो । ६० जति छाउगोठ भत्काएको अध्यक्ष बस्नेतले बताए । ‘जति गरे पनि नसकिने भयो, छाउगोठ भत्काएर आयौं, फेरि बनाइहाल्छन्,’ अध्यक्ष बस्नेतले भने, ‘सम्झाइबुझाइ गरिरहेका छौं, मान्दै मान्दैनन् ।’
दमाईको पक्की घर छ । पक्की घरभन्दा २०/३० मिटर टाढा उनले छाउगोठ बनाएकी थिइन् । महिनावारी हुँदा उनी त्यही छाउगोठमा सुत्ने गर्थिन् ।







Facebook Comments