काठमाडौँ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यसै क्रममा भानुभक्त आचार्यकै नाममा स्थापित भएको भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरीमा  प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । 

उक्त प्रभातफेरी नेपाल स्काउट भवन लैनचौरदेखि सुरु भई पानीपोखरी स्थित विद्यालय परिसरसम्म पुगेको थियो । प्रभातफेरीमा सहभागी सयौ विद्यार्यीले विभिन्न पोसाकमा सजिएर, भानुभक्त बनेर तथा उनका रचनाहरू पाठ गर्दै विद्यालयसम्म पुगेका थिए । 

उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्व आपूर्ति तथा वाणिज्य राज्य मन्त्री राजेशकाजी श्रेष्ठ उपस्थित थिए। प्रभातफेरी कार्यक्रम विद्यालयको प्राङ्गणमा रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरी समाप्त भएको थियो । 

भानुजयन्तीकै अवसरमा विद्यालयले विहान ११ बजेदेखि २ बजेसम्म रक्तदान तथा स्वास्थ्य क्याम्प राखेको छ । बेलुका ४ बजे एसईई  उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।