बैतडी । शनिबार बिहान जीप दुर्घ बैतडीको डिलाशैनी गाउपालिका–१ घर भएका दुई जनाको मृत्यु भएपछि गाउपालिकामा आईतबार शोक बिदा दिएको छ । दुर्घटनामा एकै गाउका दुई जनाको मृत्यु र ६ घाइते हुदा पुरै गाउ शोकमा डुबेको हो ।
एकै गाउका दुईजना युवाको अकालमै ज्यान गएपछि गाउपालिका शोकमा डुबेको गाउपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । उक्त दुर्घटनामा डिलाशैनी गाउपालिका–१ घर भएका बरम आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ३२ बर्षीय किरनबहादुर बोहरा र सोही ठाउका जीप चालक २४ बर्षीय सन्तोषबहादुर रानाको मृत्यु भएको थियो । 
धनगढीबाट गन्नातर्फ आइरहेको सुपप्र ०१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाच बजेतिर बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर डिलाशैनी १ कै ६ जना घाइते भएका छन् ।
दुर्घटना परेर एक कुशल स्वास्थ्यकर्मीको निधन भएको डिलाशैनी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए । यस्तै एक होनहार युवाको निधनले सिंगो गाउ शोकमा डुबेको उनले बताए ।
मृतक बोहराका घरमा एक छोरा, श्रीमती र आमा–बुवा रहेका छन् । यस्तै दुर्घटनामा मृत्यु भएका चालक रानाको घरमा एक छोरी, श्रीमती र आमा–बुवा रहेका छन् । 
गाउपालिकाले शोक वक्तव्य जारी गर्दै आइतबार गाउपालिका मातहतका सबै सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको जनाएको छ ।