झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको बताएका छन् ।

झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटनको क्रममा ओलीले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको बताए ।

उनले भने, ‘म स्पेन गएको थिएँ । त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पार्टी र केही अराजकतावादी पार्टीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे ।’

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए । दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने पनि उनले घोषणा गरे ।

हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निस्शुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसईई नतिजा १३ प्रतिशतले सुधार आएको उनले दोहोर्‍याए ।