काठमाडौं । आफूलाई विधानविपरीत राप्रपाको अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै नवराज सुवेदीले दिएको उजुरीउपर निर्वाचन आयोगले अध्ययन गरेरमात्रै निर्णय गर्ने जनाएको छ ।

सुवेदीले आइतबार आफ्नो पदीय हैसियत यथावत् कायम गर्न माग गर्दै दिएको निवेदनमा आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेलले अध्ययन गरेर मात्रै निर्णय गर्ने जानकारी गराएकी हुन् ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनिन्, ‘एक टीम आएर एउटा निवेदन दिनुभएको छ । आयोगले त्यो निवेदन लिएको छ र आयोगले अध्ययन गर्छ । त्यसमा के भएको रहेछ, कस्तो भएको रहेछ, अध्ययनपछि मात्रै भन्न मिल्छ । जस्तै निवेदनमा के माग गरिएको छ, अब त्यहाँ केही पत्रपत्रिका यताउताका माध्यमबाट कारबाही भएको भन्ने उहाँहरूको निवेदन छ । त्यो के रहेछ यथार्थ हामी हेर्छौँ । निवेदन पढ्छौँ, त्यसपछि आयोगले अध्ययन गरेर केही निर्णय गर्छ ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थिए । यो कार्य विधानविपरीत रहेको भन्दै सुवेदी पार्टीको संस्थापन इतर खेमाको साथमा आयोगमा उजुरी लिएर गएका हुन् ।