काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।

सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ।