
काठमाडौँ । भानुभक्त आचार्यकै नाममा स्थापित भएको भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरीले भानु जयन्ती तथा एसइई उत्तीर्ण विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा भानुभक्तको सम्मानमा प्रभातफेरी कार्यक्रम पनि गरिएको थियो । उक्त प्रभातफेरी नेपाल स्काउट भवन लैनचौरदेखि सुरु भई पानीपोखरी स्थित विद्यालय परिसरसम्म पुगेको थियो । प्रभातफेरीमा सहभागी सयौँ विद्यार्थीले विभिन्न पोसाकमा सजिएर, भानुभक्त बनेर तथा उनका रचनाहरू पाठ गर्दै विद्यालयसम्म पुगेका थिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्व आपूर्ति तथा वाणिज्य राज्य मन्त्री राजेशकाजी श्रेष्ठ उपस्थित थिए। प्रभातफेरी कार्यक्रम विद्यालयको प्राङ्गणमा रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरी समाप्त भएको थियो ।
आइतबार साँझ एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । परीक्षामा उच्च अंक प्राप्त गर्न सफल नौ जना विद्यार्थीलाई भने विशेष सम्मान गरियो।
उच्च अंक ल्याएर विशेष सम्मानित हुने विद्यार्थीहरूमा आसरा प्रधान, बेन्सी रावत, सबीना वाग्ले, दिया सुवेदी, आयुषा बुढाथोकी, सरमिका सुवेदी, जेनिसा घिमिरे, अनुजा अमगाई र ईश्वरा आचार्य रहेका छन्।
विद्यालयका प्रधानाध्यापक ईश्वरी ढुङ्गानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन सुरज कार्कीले गरेका थिए भने कार्यक्रमलाई अन्जु मैनाली र दीपेन्द्र पोखरेलले सञ्चालन गरेका थिए ।
कार्यक्रममा अभिभावकको तर्फबाट गंगा सुवेदीले मन्तव्य राख्दै विद्यालयले विद्यार्थीको प्रतिभालाई कदर गरेकोमा खुसी व्यक्त गरेकी थिइन् ।







Facebook Comments