काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल हुने भएको छ।

बेलुकी ८ बजे उनीहरूबीच छलफल हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सचिवालय स्रोतका अनुसार सत्ता गठबन्धन, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा तीन दलका शीर्ष नेताबीच कुराकानी हुन लागेको हो।

जसपा नेपालले ओली नेतृत्वको सरकारलाई समर्थन दिएको छ। तर पार्टीभित्र ओली सरकारलाई दिएको समर्थन फिर्ताको आवाज उठेको छ। सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्न जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिले संसदीय दललाई आग्रह गरेको थियो।

प्रतिनिधि सभामा जसपा नेपालका ५ जना र राष्ट्रिय सभामा ३ जना सांसद छन्। पार्टीले समर्थन फिर्ता लिएमा सरकार राष्ट्रियसभामा अल्पमतमा पर्छ ।